Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    प्रदेश १ : मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित

    प्रदेश १ : मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित


    • शनिवार, फाल्गुण ७ २०७८

    • नेपाल वाइड


    प्रदेश १ : मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित
    बर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रमका अबशरमा उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा झापाका नरेश खातीलाई सम्मान गरिदै ।

    विराटनगर, ७ फागुन । प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ ।

    विराटनगरमा आज ३० औं संस्करणको मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रममा गत वर्ष राज्यपक्षबाट ४७ जना पीडित भएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनुभयो ।

    उहाँका अनुसार सन् २०२० मा प्रदेश १ मा ८ सय १३ जना पीडित भएको इन्सेक अभिलेखमा छ । गत वर्षको तुलनामा यस वर्ष प्रदेश १ मा १ सय ६ जना बढी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।

    सन् २०२१ मा प्रदेश १ मा अपहरणका घटनामा चार, गिरफ्तारी ३, कुटपिट ४५, बाल अधिकार ३ सय ५, हिरासतमा मृत्यु २, घाइते १२, हत्या ६७, जातीय विभेद १, धम्की ४, यातना १, महिला ४६८ र कारागारमा मृत्यु ७ गरी ९ सय १९ जना मानव अधिकारका घटनामा पीडित भएको प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताउनुभयो ।

    सन् २०२१ मा प्रदेश १ मा महिला अधिकारका घटनामा ४ सय ६८ जना पीडित भएको उहाँले बताउनुभयो । गत वर्ष ३ सय २५ जना पीडित भएको इन्सेक अभिलेखमा छ । सन् २०२१ मा बाल अधिकारका घटनामा ३ सय ५ जना पीडित भएको इन्सेकले जनाएको छ ।

    यो वर्ष प्रदेश १ का कूल १ सय ३७ स्थानीय तहमध्ये आठ स्थानीय तहमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएनन् । इटहरी उपमहानगरपालिकामा सबैभन्दा बढी ३६ जना पीडित भएका घटना भएको अधिकारीले बताउनुभयो ।

    बर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा झापाका नरेश खातीलाई नगद ७ हजार सहित सम्मानित गरिएको थियो ।

    कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश तिलप्रसाद श्रेष्ठ, मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौला, पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष संजीव खनाल लगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार