शुक्रवार, फाल्गुण ६ २०७८
नेपाल वाइड
खोटाङ, ६ फागुन । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति खोटाङले निर्वाधरुपमा गोरु काट्न पाउने कानूनी व्यवस्थाका लागि प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)लाई गुहारेका छन् ।
गठबन्धनमा आवद्ध खोटाङका दलले शुक्रबार दिक्तेलमा आयोजना गरेको वधाई, स्वागत तथा भेटघाट कार्यक्रममा महासंघले मन्त्री राईलाई ज्ञापन–पत्र बुझाउँदै आदिवासी जनजातिको परम्परा र संस्कृति अनुसार निर्वाधरुपमा रुपमा गोरु काट्न पाउने व्यवस्थाका लागि मुलुकी अपराध संहिता सच्याउन माग गरेका हुन् ।
गोरु काटेर मासु विक्री गर्दै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ २३ माघमा पक्राउ परेपछि महासंघले मन्त्री सामु संविधानसँग बाझिएको मुलुकी अपराध संहिताको धारा खारेजीको माग गरेका छन् ।
‘नेपाल राज्य स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेसी लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनी उल्लेख भएको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘तर मुलुकी अपराध संहिता २०७४ को धारा २८९ मा संविधानको प्रस्तावनासँग बाझिने गरी धर्म निरपेक्षताको भावना विपरित गाई, गोरु मार्न वा कुट्न नहुने भनि आदिवासी जनजातिको परम्परा, धर्म र संस्कृतिमा आघात पुग्ने व्यवस्था गरिएकाले संविधानसँग बाझिएको धारा खारेजीको माग गर्दछौँ ।’
मुलुकी अपराध संहितामा ‘परम्परादेखि नै पशु वा पंक्षीको वध गर्न चलिआएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पंक्षी मार्न वाधा पर्ने छैन’ उल्लेख भए पनि आदिवासी जनजातिको परम्परा विरुद्ध गोरु मार्न वा काट्न रोक लगाइएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति खोटाङका सचिव उदिम चाम्लिङले बताए । धर्मनिरपेक्ष राज्यका हरेक समुदायलाई आ–आफ्नो संस्कार/संस्कृति मनाउन पाउने हक भए पनि मुलुकी अपराध संहिताले रोक लगाएको महासंघले जनाएको छ ।
जिल्लास्थित गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजादी पार्टीले पनि २७ माघमा प्रेस विज्ञाप्ती जारी गर्दै मुलुकी अपराध संहिताको धारा २८९ मा उल्लेखित ‘गाई गोरु मार्न वा कुट्न नहुने’ व्यवस्था खारेजीका लागि पहल गर्ने निर्णय गरेको जानकारी दिएका थिए ।