बिहिवार, फाल्गुण ५ २०७८
नेपाल वाइड
खोटाङ, ४ फागुन । खोटाङमा एमसीसी सम्झौता विरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकार समक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दवाव स्वरुप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेलबजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइएको हो ।
दिक्तेलबजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले नेपाल सरकार समक्ष पुग्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
दिक्तेलबजारमा ‘नो एमसीसी, गो व्याक एमसीसी, रेजेक्ट एमसीसी, एमसीसी फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौता विरुद्ध हस्ताक्षर संकलन गरिएको थियो ।
पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान संगमपार्क, रत्नपार्क, किरातचोक लगायतका क्षेत्रमा सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा संलग्न टंक थापाले बताए ।