आइतवार, माघ ९ २०७८
नेपाल वाइड
खोटाङ, ९ माघ । खोटाङमा एकैदिन ३५ जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको छ । आइतबार जिल्लाका ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनालाई कोरोना संक्रमण पूष्टि भएको हो । आइतबार ३ संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।
कोभिड–१९ को तेश्रो लहरपछि कोरोना संक्रमण भएर निको हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले बताए । चार जना संक्रमणमुक्त हुँदा जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ ।
यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को प्रथम र दोश्रो लहरमा जिल्लाका ३ हजार ४१ संक्रमितले कोरोना जितेका थिए । त्यस अवधिमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।