आइतवार, माघ ९ २०७८
नेपाल वाइड
खोटाङ, ९ माघ । रेविजको आंशकामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा खरबारीका गाईवस्तुलाई खोप दिइएको छ । र्याल चुहाउने, कराउने र मान्छेलाई झम्टने लगायतका समस्या देखिएको केही समयपछि एउटा बहर र एउटा व्याउने गाई मरेपछि स्थानीयको आग्रहमा आइतबार नगरपालिकाको पशुसेवा शाखाको व्यवस्थापनमा गाईवस्तुलाई रेबिज विरुद्धको खोप दिइएको हो ।
गाईवस्तुमा रेबिजको लक्षण देखिएको भन्दै गाउँमा त्रास फैलिएपछि १६ वटा गाईगोरु र भैंसीलाई रेविज विरुद्धको खोप दिइएको पशुसेवा शाखा प्रमुख गणेश आचार्यले बताए ।
स्थानीय मनिप्रकाश राई, पर्शुराम राई, मानबहादुर राई, श्यामबहादुर राई र खड्गबहादुर भुजेलको गाईवस्तुलाई खोप लगाइएको हो । पर्शुरामले गत मंसिरमा गोरुसँग साटेर लिएको बहरमा कराउने, मान्छेलाई झम्टने लक्षण देखिएको केही समयपछि ५ माघमा मरेको थियो ।
श्यामबहादुरको सोही लक्षण देखिएको व्याउने गाई आइतबार मरेपछि गाउँमा रेविजको आशंकामा त्रास फैलिएको थियो । गाउँघरमा भुस्याहा कुकुर बढेको बेला गाईवस्तुमा रेविजको लक्षण देखिएकाले रेविजको त्रास फैलिएको मनिप्रकाशले बताए ।
नगरपालिकाको पशुसेवा शाखाले भने गाईवस्तुमा रेविज नभै निमोनियाको लक्षण देखिएकाले त्रास नमान्न आग्रह गरेको छ । रेविज र निमोनियाको केही लक्षण उस्तै देखिने भएकाले त्रास मान्नुपर्ने अवस्था नभएको पशुसेवा शाखा प्रमुख आचार्यले बताए ।
‘पहिल्यै रेविज देखियो भनेर भेटेनरी प्राविधिकलाई अनुगमनमा पठाएका थियौं, हामी आफै पनि पुगेर अध्ययन गर्दा गाईवस्तुलाई रेविज लागेको पूष्टि भएन,’ आचार्यले भने, ‘खेतमा बाँधेको गाईवस्तुलाई चिसोले निमोनिया भएको हो । यद्यपी, त्यी गाईवस्तुसँग लसपस भएका अन्य गाईवस्तुलाई खोप दिइएको छ ।’