आइतवार, माघ ९ २०७८
नेपाल वाइड
ओखलढुंगा, ९ माघ । स्काभेटरले थर्किएको ढुंगा खसेर बोलेरो जीपलाई किच्दा ओखलढुंगामा दुई बालक सहित तीन जनाको मृत्यु भएको छ । आइतबार बिहान मानेभन्ज्याङ गाउँपालिका–१ मोलीबाट ओखलढुंगाबजारतर्फ जाँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरो जिपलाई स्काभेटरको थर्कनले कमजोर बनेर पल्टिएको ढुंगाले किच्दा सिद्धिचरण नगरपालिका–१ तलुवाका एकै घरका ७ वर्षीया युनिशा कोइराला, १० वर्षीय युसव कोइराला र मोलीका ३० वर्षीय हेमबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
६ जना सवार बोलेरो जीपलाई सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा माथिबाट खसेको ठूलो ढुंगाले किच्दा तीन जनाको घट्नास्थलमै मृत्यु भएको डिएसपी गोविन्दराज काफ्लेले बताए ।
घट्नामा लक्ष्मी कोईराला (मृतक युनिसा र युसवका आमा), मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जिव श्रेष्ठ घाईते भएका छन् । गम्भीर घाईते देवबहादुर र सञ्जिवलाई उपचारका लागि हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाइएको छ ।
ओखलढुंगा मिलनचोक–निशंखे सडक ग्राभेलको ठेक्का लिएको कान्छाराम कन्सट्रक्सनले सडकभन्दा माथिबाट डोजर÷स्काभेटर प्रयोग गरेर ढुंगा झिक्नेक्रममा नजिकैको अर्को ढुंगा थर्किएर सडकमा खस्दा यात्रु सहितको बोलेरोलाई किचेको हो ।
निर्माण कम्पनीले सुरक्षाको ख्याल नगरी ढुंगा झिक्दा दुर्घटना भएको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानका वडा सदस्य शिवकुमार बानियाँ बताउँछन् ।
“सडकमाथि ढुंगा झिक्दैगर्दा ढुंगा खस्छ भन्नेतर्फ सुरक्षा सावधानी अपनाइएको देखिएन । लापरवाही भएको छ,” बानियाँले भने, “निर्माणस्थलमा झण्डाको संकेत राख्ने वा सचेत गराउने मान्छे राखेको देखिएन । त्यहाँ अरु विद्यार्थी पनि हिँडिरहेका हुन्छन् ।”