बिहिवार, पौष २९ २०७८
नेपाल वाइड
खोटाङ, २९ पुस । खोटाङका सत्ता गठबन्धन दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको पक्षमा मतदानका लागि समन्वय गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बुधबार बसेको संयुक्त बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधि बीच गठबन्धनको पक्षमा मतदान गर्न समन्वय गर्ने निर्णय गरेको हो ।
चार सत्ता गठबन्धन दलले बिहिबार कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा कांग्रेस सभापति बिष्णुकुमार राईले गठबन्धनमा आवद्ध जनप्रतिनिधिलाई गठबन्धनकै पक्षमा मतदान गर्ने/गराउने निर्णय गरिएको जानकारी दिए ।
जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त राजनीतिक उपलव्धी, संघीयता, लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं प्रतिगमनकारी हर्कत र पश्चगमनकारी कदमलाई असफल बनाउँदै देशलाई एकतावद्ध रुपमा अग्रगमनतर्फ अगाडि बढाउन भन्दै सत्ता गठबन्धन दलले राष्ट्रियसभाको निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय गरिएको जनाएको छ ।
जिल्लाका चार सत्ता साझेदार दलले आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत गठबन्धन कायम राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । केन्द्रमा गठबन्धन भत्किएको अवस्थामा पनि जिल्लाको सापेक्षता र आवश्यकताको आधारमा गठबन्धन कायम रहने सभापति राईले संकेत गरेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुबीचको सहकार्य र एकताको संयुक्त प्रयासलाई थप बलियो बनाउन गठबन्धनलाई पालिका र वडा तहसम्म पु¥याउने तयारी गरिएको जानकारी दिइएको छ ।
यस्तै, जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरु जारी राख्ने र गठबन्धनमा आवद्ध दलको पालिकामा संयुक्त बैठक बसी जनताको मागहरु प्रदेश र संघीय सरकारमार्फत तत्काल संवोधन गर्न पहल गर्ने निर्णय गरिएको सत्ता गठबन्धन दलले जनाएको छ ।
पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञाप्तीमा कांग्रेस सभापति राई, नेकपा माओवादी केन्द्रका अध्यग्क्ष पृथ्बी किराती, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलशेर राई र जनता समाजवादी पार्टीका अध्यक्ष टंक थापाले हस्ताक्षर गरेका छन् ।