Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    दिक्तेलबजारको सडक ढलान

    दिक्तेलबजारको सडक ढलानमा ढिलासुस्ती, व्यवसायी गए डेलीगेसन

    दिक्तेलबजारको सडक ढलानमा ढिलासुस्ती, व्यवसायी गए डेलीगेसन

    ढलानमा चरम लापरवाही

    • बुधवार, पौष २८ २०७८

    • नेपाल वाइड


    दिक्तेलबजारको सडक ढलानमा ढिलासुस्ती, व्यवसायी गए डेलीगेसन
    सुर्य विकास जेभीले निर्माण गर्दै गरेको दिक्तेलबजारको सडक ढलान ।

    खोटाङ, २८ पुस । खोटाङको दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पारिएको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै शान्ति सल्लेरी टोलका व्यवसायी विरोधमा उत्रिएका हुन् ।

    दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिबेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सुर्य विकास जेभीले सडक ढलानको काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यपार–व्यवसायमा असर पुगेको उद्योग बाणिज्य संघ खोटाङ अन्तरगतको लत्ताकपडा व्यवसायी उपसमिति संयोजक सुमन श्रेष्ठले बताए ।

    निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राती ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिबेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा सडक खनेर असरल्ल छाड्दा आवत–जावत गर्न समस्या सिर्जना भएको व्यवसायीको भनाई छ ।

    ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुंगामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग बाणिज्य संघ खोटाङ नेतृत्वको व्यवसायी बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा डेलीगेसन गएका छन् ।

    मंगलबार बसेको व्यवसायीको बैठकले बेस क्याम्पदेखि त्रिबेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्न समेत असहज भएको भन्दै दवावमुलक अभियान सञ्चालनका लागि उद्योग बाणिज्य संघलाई पहल कदमी चाल्न आग्रह गर्ने निर्णय गरेको थियो ।

    त्रिबेणीचोकलेखि नेपाल टेलीकमसम्मको सडक ढलानका लागि टेण्डर आव्हान गर्नमा समेत ढिलाइ हुँदा दिक्तेलबजार ढलान गर्ने योजना बेलामा पुरा नहुने देखिएको व्यवसायीको बैठकको निष्कर्ष छ ।

    सुर्य विकास जेभीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । कोभिड–१९ को महामारीका कारण देखाएर सडक ढलानको काम आगामी ८ माघसम्म थप गरिएको बताइएको छ ।

    हालसम्म ३० प्रतिशत मात्र ढलानको काम सकिएको अनुमान छ । ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।

    ढलानमा चरम लापरवाही

    दिक्तेलबजारको मानव अधिकारचोकदेखि बेस क्याम्पसम्मको सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टीमेट विपरित रड राखेर ढलान गरेको छ ।

    बजारको सडक ढलानका क्रममा १०/१० सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दुरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दुरीमा कसेर ढलान गरिएको पाइएको स्थानीय एवं तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताए ।

    अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् । पुर्वी पहाडका सबैजसो जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेलबजार ढलानको काम सुरु गरिएको हो ।

    सम्बन्धित समाचार