शनिवार, पौष २४ २०७८
नेपाल वाइड
खोटाङ, २४ पुस । खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयकी ४३ वर्षीय मञ्जु परियारको आगोमा जलेर मृत्यु भएको छ । फुसको छानो हटाउने अभियान अन्तरगत जस्ता हाल्नका लागि छानाबाट निकालेर थुपारिएको खरको थुप्रोमा आगलागी हुँदा परियारको शुक्रबार साँझ घट्नास्थलमै मृत्यु भएको हो ।
घरमा श्रीमान नभएको बेलामा खरको थुप्रो नजिकै आगो बाल्ने क्रममा आगो सल्किँदा परियारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सुरेश ठाकुरले बताए ।
फुसको छानो हटाउने अभियान अन्तरगत परियार दम्पत्तीले बाँसको टाँटीले बारेको घरमा जस्ता हालिसकेका छन् । परियार दम्पत्तीका तीन छोरामध्ये दुई छोरा रोजगारीका सिलसिलामा भारतको सिलाङ र एक छोरा तराई पुगेका छन् । घरमा श्रीमान र श्रीमती मात्र बस्दैआएको वडाध्यक्ष बिदुरमान राईले बताए ।
घरमा श्रीमान नभएको बेला मादक पदार्थ सेवन गरेर खरको थुप्रो नजिक आगो बाल्दा आगो सल्किएको र नशामा भाग्न नसक्दा परियारको जलेर मृत्यु भएको अनुमान गरिएको छ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।