बिहिवार, पौष २२ २०७८
नेपाल वाइड
खोटाङ, २२ पुस । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु खोटाङले एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद उषाकला राईको अभिव्यक्तीप्रति आपत्ती जनाएको छ ।
२० पुसमा केपिलासगढी गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा नेतृ राईले नेकपा (एस)का नेतालाई लक्षीत गर्दै अपाच्य शव्द प्रयोग गरेको भन्दै अनेरास्ववियुले विज्ञाप्तीमार्फत खेद प्रकट गरेको छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष दिपेन्द्र राई र सचिव रेशजोन राईले बिहिबार विज्ञाप्ती जारी गर्दै नेपालको संविधान २०७२ भाग ३ धारा १७ को स्वतन्त्रता सम्वन्धीको हकको धज्जी उडाउँदै समाजमा अपच हुने भाषा स्वीकार्य नहुने जनाएको छ ।
‘सार्वजनिक ठाउँमा सार्वजनिक पद धारण गरेको जिम्मेवार व्यक्तिले दरिद्रतापुर्ण अभिव्यक्ती दिनु भनेको आफ्नो पद र ओहोदाको गरिमालाई जोगाउन नसक्नु हो,’ विज्ञाप्तीमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरिसक्नु भएका व्यक्तीहरु बोल्दा यस्ता तुच्छ भाषाशैली प्रयोग हुनु भनेको सिंगो समाजको लागि दुर्भाग्य भएको हाम्रो संगठनको ठहर छ ।’
अनेरास्ववियुले आफ्नो अभिव्यक्ती फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्न र आगामी दिनमा अभिव्यक्ती राख्दा सामाजिक मर्यादा समेत ख्याल राख्न अपिल गरेको छ ।