Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङ : भ्रष्टाचार र अनियमितताको पर्दाफाँस गर्ने नेकपा (एस)को निर्णय

    खोटाङ : भ्रष्टाचार र अनियमितताको पर्दाफाँस गर्ने नेकपा (एस)को निर्णय


    • बुधवार, पौष २१ २०७८

    • नेपाल वाइड


    खोटाङ : भ्रष्टाचार र अनियमितताको पर्दाफाँस गर्ने नेकपा (एस)को निर्णय
    नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको तेस्रो बैठक ।

    खोटाङ, २१ पुस । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा सञ्चालन भएका योजनाको अनुगमन गर्ने निर्णय गरेको छ ।

    आयोजनामा भए/गरेका भ्रष्टाचार तथा अनियमितताको पर्दाफाँसका लागि भन्दै एकीकृत समाजवादीको तेश्रो जिल्ला कमिटि बैठकले स्थानीयदेखि संघीय सरकारमार्फत सञ्चालन भएका योजना अनुगमन गर्ने निर्णय गरेको हो ।

    १४ असार २०७४ मा सम्पन्न स्थानीय तह र त्यसपछिका प्रदेश र संघीय निर्वाचन पश्चात टोल, वडा, पालिका र जिल्ला तहमा हालसम्म भए/गरेका विकास निर्माणको कामको अनुगमन गरी सत्यतथ्य विवरण संकलन गर्दै उपलव्ध गराउन तल्लो कमिटिलाई निर्देशन दिइएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज बबी चाम्लिङले बताए ।

    तीन तहको सरकारमार्फत सञ्चालन भएका योजनाहरुको अनुगमन गरी पाइएका सत्यतथ्य विवरण आगामी १५ माघभित्र वडा कमिटिबाट संकलन गरी जिल्ला कमिटि समक्ष बुझाउन नगर वा गाउँपालिका कमिटिलाई भनिएको छ ।

    ‘योजनाको पारदर्शीता बारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ’ भन्ने पहिचानका लागि योजना अनुगमनको निर्णय गरिएको केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज चाम्लिङले बताए ।

    नेकपा (एकीकृत समाजवादी)ले योजना अनुगमनका क्रममा बजेटको अंक, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, कामको सम्पन्न भएको मात्रा, लाभान्वित संख्या, योजना दाता वा सम्वन्धित निकायको नाम लगायतका विवरण संकलन गर्न निर्देशन दिएको छ ।

    ‘योजनामा भएका समस्या खोजी गर्दैछौँ । कहाँ, कस्तो योजना कसरी चलिरहेको छ भन्ने बुझ्दैछौँ । त्यो बारेमा यतार्थ विवरण बाहिर ल्याउने छौँ,’ चाम्लिङले भने, ‘त्यससँगै कुन टोलमा कस्तो योजनाको आवश्यकता छ । आवश्यकताको पनि पहिचान गरेर समाधानमा अघि बढ्ने छौँ ।’

    टोल कमिटिको भेलाबाट प्रत्येक टोल वा वस्तीमा आवश्यकीय तत्कालिन र दिर्घकालिन योजनाहरु छनौट गरी वडा कमिटिमा पेश गर्ने, टोल कमिटिबाट पेश भएको योजनाहरु वडा कमिटिमार्फत गाउँ वा नगर कमिटि हुँदै जिल्ला कमिटिमा पेश गर्ने/गराउने निर्णय गरिएको छ ।

    टोल वा वस्तीहरुमा आकस्मिक भैपरी आउने समस्या वा योजनाहरुको हकमा परिस्थितिजन्य रुपमा सिधै सम्वन्धीत निकायसँग समन्वय गरी काम अघि बढाउन सकिने नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलसेर राईले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

    नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका १० स्थानीय तहमध्ये बाँकी रहेको खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकामा तत्काल कमिटिसँगै पालिका स्तरिय कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

    हालसम्म बराहपोखरी, जन्तेढुंगा, दिप्रुङ चुईचुम्मा, साकेला, ऐसेलुखर्क, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडा इन्चार्ज एवं संयोजक तोकिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ । यस्तै, ७९ वडामध्ये ३७ वडामा वडा कमिटि गठन गरिएको छ । आगामी ७ माघभित्र वडादेखि जिल्लासम्म जनवर्गीय संगठनहरुको गठन तथा पुःर्नगठन गर्ने पार्टीले जनाएको छ ।

    सम्बन्धित समाचार