Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नीजि वनजन्य सम्पदा निर्वाध भोगचलनको माग

    नीजि वनजन्य सम्पदा निर्वाध भोगचलनको माग


    • बुधवार, पौष १४ २०७८

    • नेपाल वाइड


    नीजि वनजन्य सम्पदा निर्वाध भोगचलनको माग
    पारिवारिक नीजि वन किसानको सवालमा दिक्तेलमा आयोजित कार्यक्रमका अतिथि लगायत ।

    खोटाङ, १४ पुस । खोटाङका स्थानीयले नीजि जग्गामा लगाइएका वन सम्पदालाई अन्नवाली सरह बेच्न पाउनुपर्ने माग गरेका छन् । पारिवारिक नीजि वन किसानहरुको सवालमा दिक्तेलमा बुधबार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सहभागीले किसानको स्वामित्वमा भएका जंगल तथा जडिबुटीको निर्वाध भोगचलन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्नुपर्ने धारणा राखेका छन् ।

    आफ्नो जग्गामा वन हुर्काएका दिक्तेलका मिनप्रसाद आचार्यले व्यक्तिको स्वामित्वमा रहेका साल, उत्तिस, चिलाउने जस्ता रुखमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेका छन् ।

    “अन्य वन क्षेत्रको रुख काट्न पाउने तर व्यक्तिका नीजि अधिकार भएको जग्गामा रहेका रुख काट्न नपाउनु स्वतन्त्रता र व्यक्तिगत सम्पत्तीको अधिकारको उल्लंघन हो,” आचार्यले भने, “नीजि जग्गामा संरक्षण गरिएका वन सम्पदालाई अन्नवाली सरह बेच्न पाउनु पर्छ र त्यसको सहजरुपमा बजार पहुँच व्यवस्था हुन आवश्यक छ ।” आफ्नो नीजि जमिनमा उत्पादन भएका काठ तथा जडिबुटीजन्य उत्पादनको विक्रीवितरणमा सहज कानूनी प्रावधान नहुनु विडम्वना भएको सहभागीले औंल्याएका छन् ।

    एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले आवादी जग्गामा उत्पादित काठ तथा जडिबुटीजन्य उत्पादनको ओसार–पसारमा रहेको झन्झटिला नीतिगत अवरोध हटाएर किसानको आर्थिक संमृद्धिका लागि नीतिगत सहजीकरणको व्यवस्थाको खाँचो औंल्याएका छन् ।

    कांग्रेस नेतृ डिल्लीकुमारी आचार्यले किसानको बारीको छेउछाउमा हुर्केका रुखविरुवाको सहज विक्रीवितरण गरी जीविकोपार्जनमा टेवा पुर्‍याउनुपर्ने धारणा राखेकी छन् ।

    यस्तै, जनता समाजवादीका प्रदेश सचिव सुर्यबहादुर राईले पारिवारिक नीजि वनमा किसानको हक अधिकार सुनिश्चित गर्नका लागि नीति निर्माण प्रकृयामा उनीहरुको सहभागीता र पहुँच विस्तारमा जोड दिएका छन् ।

    कार्यक्रम पारिवारिक नीजि वन संघ खोटाङले आयोजना गरेको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एबं एमाले प्रमुख सचेतक बिशाल भट्टराई, पारिवारिक नीजि वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरी लगायतले बोलेका थिए ।

    सम्बन्धित समाचार