मंगलवार, पौष १३ २०७८
खेमराज पुरी
खोटाङ, १३ पुस । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा किवी खेती सम्वन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ । किसानलाई किवी खेती सम्वन्धी सैद्धान्तिक र व्यवहारीक सीप सिकाउने लक्ष्यका साथ इकोहिमाल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले तालिमको आयोजना गरेको हो ।
ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा पुस १० देखि १२ पुससम्म सञ्चालन गरिएको तालिममा गाउँपालिकाभित्रका २१ किसानको सहभागीता रहेको थियो ।
तालिममा सहभागीलाई किवी खेती सम्बन्धी प्रविधि, काटछाँट गर्नेदेखि कलमी सार्ने विधिका बारेमा जानकारी गराइएको गाउँपालिकाले जनाएको छ । तालिममा वरिष्ठ बागवाणी बिज्ञ चन्द्रमान श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाको प्रमुख आथित्यतामा समापन गरिएको थियो ।
यस्तै, इकोहिमाल र रावाबेँसी गाउँपालिकाको सहकार्यमा पनि किवी खेती सम्बन्धी तीन दिने तालिम आयोजना गरिएको छ । रावावेँसी गाउँपालिका–६ हौंचुरको हौंचुरपोखरीमा आयोजना गरिएको तालिममा ४० जना कृषकको सहभागीता रहेको थियो । ६ पुसदेखि ८ पससम्म सञ्चालन गरिएको तालिम गाउँपालिकाकी उपाध्यक्ष समला राईको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।