आइतवार, पौष ११ २०७८
नेपाल वाइड
खोटाङ, ११ पुस । जिल्ला अधिबेसनका लागि नेकपा एमाले खोटाङले गठवन्धन विरुद्ध नारा तय गरेको छ । आगामी २३ पुसमा हुने सातौं जिल्ला अधिबेसनका लागि एमालेले गठवन्धन विरुद्ध आक्रामक नारा तय गरेको हो ।
जिल्ला अधिबेसनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष रामप्रसाद दंगालले ‘सत्तालिप्साले जन्माएको गठवन्धन विरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सवै एमाले एक बनौं’ भन्ने नारा तय गरिएको जानकारी दिए ।
दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा आयोजना हुने जिल्ला अधिबेसनका लागि १५ वटा समिति तथा उपसमिति गठन गरिएको एमालेले जानकारी दिएको छ ।
जिल्ला अधिबेसनका लागि देवविक्रम राईको संयोजकत्वमा मूल व्यवस्थापन समिति, रामप्रसाद दंगालको संयोजकत्वमा राजनीतिक प्रतिबेदन लेखन उपसमिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा सांगठनिक प्रतिबेदन लेखन उपसमिति, दिपनारायण रिजालको संयोजकत्वमा आर्थिक संकलन उपसमिति, उपिनकुमार राईको संयोजकत्वमा आर्थिक प्रतिबेदन लेखन उपसमिति गठन गरिएको छ ।
यस्तै, सुरेन्द्रकुमार राईको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, दिलचक्र राईको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, बिणादेबी राईको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति, दिलकुमारी राईको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, चर्चबहादुर बिश्वकर्माको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति गठन गरिएको एमालेले जनाएको छ ।
यस्तै, सनमान खड्काको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन उपसमिति, सम्मरबहादुर भुजेलको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, दिनेश राईको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, जेनी राईको संयोजकत्वमा माइन्यूट लेखन उपसमिति र कमल ढकालको संयोजकत्वमा बहस नोट उपसमिति गठन गरिएको अध्यक्ष दंगालले जानकारी दिए ।
जिल्ला अधिबेसनमा वडा, गाउँपालिका, नगरपालिका कमिटि, सल्लाहकार परिषद, कम्यूनिष्ट मञ्च, खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्च, जनसंगठन, अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट ९९९ प्रतिनिधिको सहभागीता रहने जनाइएको छ ।
अधिबेसनले सर्वसम्मत नेतृत्व चयन गर्ने दावी गरिएको छ । पत्रकार सम्मेलनमा नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई लगायतको उपस्थिति रहेको थियो ।