शुक्रवार, पौष ९ २०७८
नेपाल वाइड
खोटाङ, ९ पुस । खोटाङले नेपाली कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य पाएको छ । नेतृ सरस्वती बजिमयले जिल्लाबाट कांग्रेसको पहिलो निर्वाचित केन्द्रिय सदस्यको इतिहास रचेकी हुन् ।
जिल्लाबाट कांग्रेसको एक जना मनोनित केन्द्रिय सदस्य मात्र बनेको इतिहास छ । १४ औं राष्ट्रिय महाधिबेसनमा आदिवासी जनजाति (महिला) तर्फ २ हजार ४८ मत ल्याएर बजिमय केन्द्रिय सदस्यमा बिजयी भएका हुन् । हालसम्म जिल्लाका दर्जनौं नेताले विभिन्न राष्ट्रिय महाधिबेसनमा कांग्रेस केन्द्रिय सदस्य चुनिन प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।
बजिमय तेश्रो प्रयासमा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी २०६७ र २०७२ कांग्रेस केन्द्रिय सदस्यमा पराजित भएकी थिईन् । २०५७ सालमा कांग्रेसमा फुट आएकाबेला तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रिय सदस्यमा मनोनित भएका विदुरप्रसाद पौडेल २०६२ सालमा पार्टी समायोजन हुँदा पनि केन्द्रिय सदस्य नै बनाइएका थिए ।
पौडेल जिल्लाको पहिलो कांग्रेस मनोनित केन्द्रिय सदस्य र बजिमय निर्वाचन प्रकृयाबाट जिल्लाको पहिलो निर्वाचित केन्द्रीय सदस्य बनेको कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राई बताउँछन् । बजिमयलाई कांग्रेस तथा अन्य पार्टीका नेताले सामाजिक सञ्जालमार्फत बधाइ दिइरहेका छन् ।
२०७० सालमा समानुपातिक सांसद बनेकी बजिमय २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिईन् । २०३६ सालको जनमत संग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनिती थालेकी उनले महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला बिभागको केन्द्रीय सदस्य, महासमिति सदस्य लगायतका भूमीका निर्वाह गरिसकेकी छन् । २१ फागुन २०१३ मा ओखलढुंगा बजारमा जन्मिएकी बजिमयको स्थायी बसोबास दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा छ ।