शनिवार, पौष ३ २०७८
नेपाल वाइड
खोटाङ, ३ पुस । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका भुपु ब्रिटिस आर्मी धनबहादुर राईले गाउँमा हेलीप्याड बनाइदिएका छन् । हाल यूकेमा रहेका भुपु ब्रिटिस आर्मी राईले मृतक श्रीमतीको नाममा बासपानी वडा कार्यालय नजिकै आफ्नै जग्गामा हेलीप्याड निर्माण गरिदिएका हुन् ।
भुपु ब्रिटिस आर्मी राईले स्वास्थ्य समस्यामा परेका आफ्नो जन्मभुमीका सर्वसाधारणको सहज उद्धारका लागि डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर बिचमा हेलीकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलीप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।
हेलीप्याड बनेपछि प्रशुती व्याथा तथा अन्य दुर्घट्नाका कारण तत्काल अस्पताल पुर्याउनु पर्ने अवस्थाका स्थानीयलाई बोक्नका लागि चार्टर गरिएको हेलीकोप्टरलाई खेतबारीमा ल्याण्ड गर्नुपर्ने वाध्यता अन्त्या भएको छ ।
यसअघि हेलीप्याड अभावमा बिरामी बोक्न झिकाइएका हेलीकोप्टरलाई कतिपय स्थानीयले आफ्नो खेतबारीमा ल्याण्ड गर्न अस्वीकार गर्ने गरेका थिए ।
‘सुत्केरी व्याथा, दुर्घट्ना वा गम्भीर बिरामी भएको अवस्थामा स्थानीयलाई गाडीमा लैजान सम्भावना नहुँदा हेलीकोप्टर चार्टर गर्ने चलन धेरै छ,’ वडाध्यक्ष गुरुङले भने, ‘वर्षामा खेतबारीमा हेलीकोप्टर बसाउन नदिने भएकाले जग्गा किनेर पर्मानेन्ट हेलीप्याड बनाउने वडाको योजना थियो ।
भुपु ब्रिटिस आर्मीले यूकेबाट आएर हेलीप्याड बनाइदिनु भएपछि हेलीप्याडको समस्या हल भएको छ ।’ हेलीप्याड बनाइदिने राईलाई वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ । भुपु ब्रिटिस आर्मी राईले श्रीमतीको कपुरथान (चिहान)लाई पनि कंक्रिट गरेका छन् ।