Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान

    फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान


    • शुक्रवार, पौष २ २०७८

    • नेपाल वाइड


    फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान
    सुनकोसीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज ।

    खोटाङ, २ पुस । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । खोटाङलाई पुर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

    गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले मंसिर दोश्रो सातादेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज बिहिबारदेखि सञ्चालनमा ल्याइएको हो । बुधबार परिक्षण गरेर सवारी साधन वारपार सुरु गराइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए ।

    हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज जडान गरिएको हो । ‘हिजो स्काभेटर वारपार गराएर टेष्ट गरियो । आजदेखि लाइट गाडी र ट्याक्टर वारपार गर्न सुरु गरेको छ,’ डिई खकुरेलले भने, ‘भोलीबाट हेभीवेटका गाडी चल्न थाल्ने छन् ।’

    १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो खुलेको छ ।

    फोक्सिङटारमा बेलिब्रिज नहुँदा जिल्लावासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पुर्वी शहर आउने र जाने गरेका छन् । फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाईनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।

    सम्बन्धित समाचार