मंगलवार, मंसिर २८ २०७८
नेपाल वाइड
खोटाङ, २७ मंसिर । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा खोटाङमा २७ लाखभन्दा बढिको क्षती भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरका ज्ञानेन्द्र खड्काको ढुंगा माटोले बनेको टिनको छाना भएको घरमा आगलागी हुँदा २७ लाख ९५ हजारको क्षती भएको हो ।

सोमबार राती भएको आगलागीमा खड्काको तीन तले घर, घरमा राखिएका नगद ५ लाख, ७ तोला सुन (टिलदानी ५ तोला, बेरुवा औंठी १ तोला, सिक्री ८ आना, मंगलसुत्र १ आना र फुली १ आना), चाँदी १७ तोला, १८ मुरी धान, १० मुरी मकै लगायत जलेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिए ।

खड्काको खाट र पलङ, लत्ताकपडा, भाँडावर्तन, नारिकता, पासपोर्ट, लाइसेन्स, लालपुर्जा, विवाह तथा जन्म दर्ता लगायतका कागजात पनि जलेको प्रहरीले जनाएको छ ।

घर जलेपछि खड्का परिवारको विचल्नी भएको छ । आगो प्रहरीचौकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रहरीले मंगलबार स्थानीयको रोहवरमा आगलागीको सर्जमिन मुचुल्का उठाएको हो ।
