आइतवार, मंसिर २६ २०७८
नेपाल वाइड
खोटाङ, २६ मंसिर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा तीन आकांक्षी देखिएका छन् । मोरङको बिराटचोकमा आइतबारदेखि जारी नेकपा माओवादी केन्द्र प्रदेश कमिटिको प्रथम अधिबेसनमा नेता इन्द्र आङ्वो, सुरेशकुमार राई (हिमाल) र हेमराज भण्डारी आकांक्षी देखिएका छन् ।
प्रदेश कमिटिका अध्यक्षका आकांक्षी आङ्वो प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री, राई वर्तमान प्रदेश कमिटि अध्यक्ष र भण्डारी प्रदेश कमिटि सचिव हुन् ।
दृश्यमा तीन आकांक्षी देखिए पनि सर्वसहमतीमै नेतृत्व चयन हुने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद रामकुमार राई पासाङले बताए ।
“हिजोसम्म उहाँहरुको आकांक्षी हुनुहुन्थ्यो, आजसम्ममा वर्तमान अध्यक्षलाई नै दोहोराउने भन्नेमा सहमती जुट्ने चरणमा छ,” राईले भने, “नेतृत्व चयनमा चुनाव हुँदैन । सहमतीमै चयन हुन्छ ।”
प्रदेशदेखि प्रदेशभरीका स्थानीय तहको टिकट वितरणमा हात रहने भएकाले प्रदेश कमिटिको नेतृत्वलाई महत्वका साथ हेर्ने गरिएको छ । तीन जनाबिचमा सहमती नजुटे र चुनाव हुने स्थिति बने अन्यले पनि प्रदेश अध्यक्षमा दावी गर्न सक्ने माओवादी केन्द्रका नेता राजुबिक्रम चाम्लिङले बताए ।
प्रदेश अधिवेशनले एक अध्यक्ष, महिला सहित तीन उपाध्यक्ष, एक सचिव, तीन सह–सचिव र एक कोषाध्यक्ष चयन गर्ने छ । अधिबेसनमा प्रदेशका १४ जिल्लाका १ हजार २ सय बढी प्रतिनिधि मोरङ भेला भएका छन् ।