आइतवार, मंसिर २६ २०७८
नेपाल वाइड
खोटाङ, २६ मंसिर । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा बैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन (शुभम्) फाउण्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् ।
खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटि सदस्यलाई आन्तरिक प्रशिक्षण दिनका लागि खोटाङ आइपुगेका महासचिव विप्लवले शुभद्रा–मदन फाउण्डेसनमार्फत सञ्चालन भइरहेको शिक्षण सिकाई क्रियाकलाप अवलोकन गरेका हुन् । विद्यार्थीलाई ‘गरि खान सिकाउने’ प्राक्टिकल शिक्षाको अभ्यास गराउँदै आएको फाउण्डेसनमा विप्लवले दुई दिन बताएर फर्किएका छन् ।
उत्पादनसँग जोडेर जनवादी स्कुल चलाउने अवधारणा सहित महासचिव विप्लवले फाउण्डेसन अवलोकन गरेको फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताए ।
‘जनवादी स्कुल चलाउने विषयमा प्रचण्ड र बाबुरामसँग उहाँको डिबेट नै भएको रहेछ,’ कार्यकारी निर्देशक राईले भने, ‘शिक्षालाई उत्पादनसँग जोडेर केही गरौं भन्ने उहाँको सोच अहिले पनि रहेछ । सोही अनुसार उहाँले फाउण्डेसनको शैक्षिक मोडलको विषयमा अवलोकन गर्नु भएको छ ।’
नेपाल कम्यूनिष्ट पार्टीले शुभद्रा–मदन फाउण्डेसनकै हलमा पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ । आन्तरिक प्रशिक्षणका क्रममा भेला भएको मौकामा महासचिव विप्लवले शुभद्रा–मदन फाउण्डेसनको अवलोकन गरेको केन्द्रीय सदस्य एबं तीन जिल्लाका इन्चार्ज चन्द्र बुढाथोकीले बताए ।
फाउण्डेसनले हरेक विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने उद्धेश्यले छ ‘क’ (कोदालो, क्यामेरा, कम्प्यूटर, कलम, कागज र किताव) सम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउँदै आएको छ ।
संसारको लागि वातावरण शिक्षा (दिसा, पिसाव, पसिनाको पुःन प्रयोग), राष्ट्रका लागि अर्थतन्त्र शिक्षा (कृषि, उद्योग, व्यापार, सेवा) तथा व्यक्तीका लागि योग्यता शिक्षा (ज्ञान, बुद्धि, विवेक, सिप) दिने फाउण्डेसनको अभियान र सपना छ । फाउण्डेसनले बन्द हुन लागेको जनजागृति प्राविलाई २०७२ सालमा जिम्मा लिएर काममुखी शिक्षाको अभ्यासलाई अझ फराकिलो बनाएको छ ।