शुक्रवार, मंसिर २४ २०७८
नेपाल वाइड
खोटाङ, २४ मंसिर । खोटाङको दिक्तेलबजारस्थित जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको गेट अगाडिको चोकलाई मानव अधिकार चोक घोषणा गरिएको छ ।
७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवशरमा शुक्रबार सो स्थानलाई मानव अधिकार चोक घोषणा गरिएको हो । नेकपा एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिभा सदस्य बिशाल भट्टराई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सो चोकलाई मानव अधिकार चोक घोषणा गरेका हुन् ।
राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय दिक्तेलको पहल र नगरपालिकाको निर्णय अनुसार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको गेट अगाडिको चोकलाई मानव अधिकार चोक घोषणा गरिएको हो ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवशरमा किरातचोकबाट सुरु भएको प्रभातफेरीलाई केहीबेर रोकेर मानव अधिकार चोक घोषणा गरिएको थियो ।
मानव अधिकारका सवालमा संवेदनशील बन्न/बनाउने प्रयत्न स्वरुप बजारको एउटा चोकलाई मानव अधिकार चोक घोषणा गरिएको मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय दिक्तेलका कार्यालय प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए । दिक्तेलबजारमा हाल शंखधर शाख्वाचोक, किरातचोक, बैंकचोक, त्रिबेणीचोक प्रचलनमा छन् ।