आइतवार, मंसिर १९ २०७८
नेपाल वाइड
खोटाङ, १९ मंसिर । जनता समाजवादी खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सुज (संगठन सुदृढिकरण तथा जनजागरण) अभियान सञ्चालन गरेको छ ।
संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने केन्द्रिय नीति अनुसार जनता समाजवादीले शनिबार लफ्याङमा ‘सुज’ अभियान अन्तरगत नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट लक्षुमन राईको अध्यक्षतामा ३६ सदस्यीय समाजवादी युवा संगठन गठन गरिएको जनता समाजवादी खोटाङका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन खम्बूले जानकारी दिए ।
कार्यक्रममा प्रदेश समिति सदस्य मोहन गुरुङ, नविन राई, दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष निर्मल राई, जिल्ला सदस्य धनीराम नछुङ, नगर सदस्य सौराज राई, समाजवादी विद्यार्थी संगठनका सह–सचिव कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा नगेन राईको अध्यक्षतामा २५ सदस्यीय जसपाको वडा कार्य समिति गठन गरिएको छ ।
जसपाका किरात प्रदेश समितिका उपाध्यक्ष प्रेम राई, जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष पिके खम्बू, उप–सचिव बिरेन्द्रकुमार दर्नाल लगायतको उपस्थितिमा वडा कार्य समिति गठन गरिएको हो ।शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा ‘सुज’ अभियान सञ्चालन गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख खम्बूले जानकारी दिए ।
मातहतका समिति गठन/पुःर्नगठन, सदस्यता विस्तार, नवीकरण, प्रशिक्षण सञ्चालन, भेला तथा सभा, जनजागरण लगायतका कार्यक्रम सञ्चालनका लागि जसपाले गत असोजदेखि ‘सुज’ अभियान थालेको हो । ‘सुज’ अभियान मंसिर मसान्तसम्म जारी रहने जनता समाजवादी पार्टीले जनाएको छ ।