सोमवार, मंसिर १३ २०७८
नेपाल वाइड
खोटाङ, १३ मंसिर । नेपाली कांग्रेस खोटाङका नवनिर्वाचित सभापति बिष्णुकुमार राईले आफुलाई ‘पुरानो पुस्ताको अन्तिम सभापति’ हुनसक्ने बताएका छन् ।
कांग्रेसको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन नेपाल प्रेस यूनियनले सोमबार कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा जिल्ला सभापति राईले पछिल्लो समय पार्टीमा पुवा पुस्ताको उपस्थिति बाक्लो हुँदै गएको अवस्थामा आफु जिल्लामा पुरानो पुस्ताको अन्तिम सभापति हुनसक्ने बताएका हुन् ।
‘भर्खरै सकिएको अधिबेसनमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व लैजान युवाले पहल कदमी गर्नुभयो । तर ५० कै दशकका नेतृत्व बिचबाट नेता छानिएको छ । म नै पुरानो पुस्ताको अन्तिम सभापति हुन सक्छु,’ सभापति राईले भने, ‘त्यस कारण म पुरानो पुस्ता र नयाँ पुस्ताबिचको पुल बन्न सक्छु । म माथि पुरानो पुस्ताको मनोभावनालाई समट्दै नयाँ पुस्ताको उत्साहपूर्ण मनोभावनालाई समाहित गर्नुपर्ने दायित्व थपिएको छ । यो काल खण्डमा मैले निकै मेहनत गर्नुपर्ने अवस्था छ ।’

नवनिर्वाचित सभापति राईले जनप्रतिनिधि गाउँ–गाउँमा पुगे पनि विकास निर्माणको काम हुन नसकेको टिप्पणी गरे । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई गाउँ–गाउँमा हिँडिरहेको भए पनि विकास निर्माणको सवालमा अपेक्षित प्रगती हुन नसकेको सभापति राईको संकेत थियो ।
‘अहिलेका जनप्रतिनिधि गाउँ–गाउँमा हिडिरहनु भएको छ तर विकास निर्माणको सवालमा सार्है निम्छरो काम भएको छ,’ उनले भने, ‘गाउँमा डुलेर वा उपस्थिति देखाएर मात्र हुन्न । केन्द्रीय तहबाट जति विकास हुन पथ्र्यो त्यती नभएको गुनासो सुनिएको छ ।’
सभापति राईले पछिल्लो समय पार्टीमा गुटगत र व्यक्तीवादी राजनीति हावी भएको उल्लेख गरे । पार्टी विचारले चलाउनु पर्ने उनले बताए । ‘व्यक्ती ठूलो कुरो होईन । व्यक्ती नहुँदा पनि पार्टी चल्छ,’ उनले भने, ‘विचारका हिसावले पार्टी चलाउनु पर्छ । हामी पार्टीको विचारसँग केन्द्रित हुनुपर्छ ।’
चुनावमा कसैले जितेको र कसैले हारेको नभै वैधानिक अभ्यास मात्र भएको सभापति राईले बताए । कार्यक्रममा नवनिर्वाचित उपसभापति इवन राई, सचिव ज्ञानेन्द्र जोशी लगायतले सम्बोधन गरेका थिए । प्रेस यूनियनले गाउँ÷नगर समिति, जिल्ला कार्य समिति, प्रदेश र संघीय महाधिबेसन प्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो ।