शनिवार, मंसिर ११ २०७८
नेपाल वाइड
खोटाङ, ११ मंसिर, नेपाली कांग्रेस खोटाङमा रामचन्द्र पौडेल–शेखर कोईराला पक्ष हावी भएको छ । जिल्ला कार्य समितिदेखि संघीय महाधिबेसन प्रतिनिधिमा पौडेल–कोईराला समुहको हावी भएको हो ।
जिल्ला सभापति बिष्णुकुमार राई सहित सबै पदाधिकारी पौडेल–कोईराला समुहको संयुक्त प्यानल विजयी भएको छ । जिल्लामा पौडेल–कोईराला समुहको संयुक्त र शेरबहादुर देउवा–कृष्ण सिटौला समुहको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।
३९ जिल्ला सदस्यमध्ये अधिकांश सदस्यमा पौडेल–कोईराला समुहको उम्मेद्वार विजयी भएका छन् । शनिबार घोषित अन्तिम परिणाम अनुसार जिल्ला कार्य समिति सदस्यमा देउवा–सिटौला समुहका १५ जनामा मात्र निर्वाचित भएका छन् ।
खोटाङबाट संघीय महाधिबेसन प्रतिनिधि (खुल्ला र समावेसी)मा पनि अधिकांश पौडेल–कोईराला समुह निर्वाचित भएका छन् । खुल्लातर्फ इच्छुराम राना, सुवासकुमार पोखरेल, भूपेन्द्र राई, नरेशकुमार श्रेष्ठ, बिश्वनाथ निरौला, रविप्रकाश राई, बिरकाजी राई, जितेन्द्रसिं ठकुरी, सुमनवाबु आचार्य र रुद्र गिरी निर्वाचित भएका छन् । संघीय महाधिबेसन प्रतिनिधि (खुल्ला)तर्फ ३० जनाको उम्मेद्वारी परेको थियो ।
यस्तै, खुल्ला महिलातर्फ सरस्वती बजिमय, बिमला राई, शान्तिदेबी राई र डिल्लीकुमारी आचार्य निर्वाचित भएका छन् । खस आर्यतर्फ इन्द्रप्रसाद घिमिरे र धर्मराज पोखरेल, खस आर्य महिलामा सरिता खड्का, आदिवासी जनजातीतर्फ भिषण राई, लोकेन्द्र राजभण्डारी र शहरमान राई चुनिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आदिवासी जनजाती महिलातर्फ कमला राई, देबी राई (दिक्तेल) र हिरा गुरुङ, दलिततर्फ राकेश परियार र अल्पसंख्यकतर्फ दिवराज राई निर्वाचित भएका छन् ।
संघीय महाधिबेसन प्रतिनिधि चुनिएका इच्छुराम, नरेशकुमार, बिश्वनाथ, रुद्र, डिल्लीकुमारी, धर्मराज, इन्द्रप्रसाद, सरिता, लोकेन्द्र, सहरमान, देबी, हिरा, राकेश र दिवराज पौडेल समुह निकट मानिन्छन् ।
यस्तै, शेखर कोईराला समुहबाट सुवासकुमार, बिरकाजी, शान्तिदेबी र सुमनबाबु चुनिएका छन् । पौडेल–कोईराला समुहबाट संघीय महाधिबेसन प्रतिनिधिमा निर्वाचित जितेन्द्रसिं र भिषण शशांक कोईराला निकट रहेको कांग्रेस श्रोतले जनाएको छ ।
यस्तै, देउवा समुहबाट रबिप्रकाश, सरस्वती, कमला, बिमला तथा सिटौला समुहबाट भूपेन्द्र निर्वाचित भएका हुन् । यसअघिको महासमिति सदस्य दिनेश राई भने संघीय महाधिबेसन प्रतिनिधिमा एक मतले पराजित भएका छन् ।
खोटाङबाट संघीय महाधिबेसन प्रतिनिधिमा निर्वाचित सुवासकुमार, नरेशकुमार, रबिप्रकाश, भूपेन्द्र, जिल्ला सभापति बिष्णुकुमार लगायत थोरै नेता मात्र केन्द्रको समुहसँग प्रतिवद्ध देखिन्छन् ।
अन्य धेरैजसो महाधिबेसन प्रतिनिधिको भने भोट हाल्नेबेलामा ‘क्याम्प’ फेरबदल हुनसक्ने श्रोत बताउँछ । किन पनि भने विगतमा पनि जिल्लामा एउटा समिकरणबाट महासमिति चुनिएका नेताले केन्द्रमा अर्कै टिमलाई भोट हालेका थिए । ‘थोरै संघीय महाधिबेसन प्रतिनिधिको मात्र जिल्लादेखि केन्द्रसम्मको लाईन क्लियर देखिन्छ,’ श्रोतले भन्यो, ‘जिल्लामा एउटा समिकरण बने पनि धेरैजसोले राष्ट्रिय महाधिबेसनमा लाईन चेञ्ज गर्न सक्ने देखिन्छ ।’