Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    पाँच राजनैतिक दलका प्रमुख एकै वडाका

    पाँच राजनैतिक दलका प्रमुख एकै वडाका


    • शनिवार, मंसिर ११ २०७८

    • नेपाल वाइड


    पाँच राजनैतिक दलका प्रमुख एकै वडाका
    एमालेका डिल्ली चाम्लिङ, कांग्रेसका चक्रकुमार राई, माओवादी केन्द्रका राजुबिक्रम चाम्लिङ, नेकपा (एकीकृत समाजवादी)का मकर राई, जनता समाजवादी पार्टीका मबिन्द्र राई ।

    खोटाङ, ११ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पाँच राजनैतिक दलका प्रमुख एकै वडाका बनाइएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी)को नगर कमिटि अध्यक्ष एकै वडाका बनाइएका हुन् । पाँच पार्टीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नेतालाई नगर कमिटिको प्रमुखको जिम्मेवारी सुम्पिएका छन् ।

    एमालेले दुर्छिमका डिल्ली चाम्लिङ, कांग्रेसले चक्रकुमार राई, माओवादी केन्द्रले राजुबिक्रम चाम्लिङ, जनता समाजवादी पार्टीले मबिन्द्र राई र नेकपा (एकीकृत समाजवादी)ले मकर राईलाई नगर कमिटिको अध्यक्ष बनाएको छ ।

    पाँच पार्टीका नगर कमिटि प्रमुख एकै वडाका भएपछि पत्रकार दिपेन्द्र राईले सामाजिक सञ्जालमा ‘हलेसी तुवाचुङ नगरपालिकाको पाँच राजनीतिक दलका नगर अध्यक्ष दुर्छिमकै । नगरको राजनीति दुर्छिमको कब्जामा’ लेखेका छन् ।

    सुरुमा १ चैत २०७५ संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी)ले दुर्छिमका मबिन्द्रलाई नगर कमिटिको अध्यक्ष चुनेको थियो । संघीय समाजवादी र नयाँ शक्ती मिलेर बनेको संघीय समाजवादीले २७ जेठ २०७६ मा र जसपासँग मिलेर बनेको जनता समाजवादीले पनि २७ भदौ २०७७ मा मबिन्द्रलाई नै नगर कमिटि अध्यक्षमा निरन्तरता दियो । त्यसपछि संयोगवस वा नियतवस क्रमशः अन्य दलले पनि दुर्छिमकै नेतालाई नगर कमिटिको अध्यक्ष चयन गरेका हुन् ।

    ११ वडा रहेको नगरपालिकामध्ये दुर्छिमको प्रतिनिधित्व राजनितीमा बढी भएका कारण सबैजसो पार्टीले दुर्छिमका नेतालाई नगरको नेतृत्वमा बिश्वास गरेको जसपाका नगर अध्यक्ष राईले बताउँछन् ।

    ‘दुर्छिमकै डिल्लीसेर राई, नयनकुमार राई जस्ता नेताले २०२६ सालमा दुर्छिम माबि स्थापना गर्नु भयो । विद्यालय स्थापना भएपछि यहाँका नागरिक शिक्षित भए ।

    राजनैतिक चेतनाको विकास भए, राजनितीप्रति चासो जगाए,’ उनले भने, ‘संख्यात्मक हिसावले राजनीतिमा यहीँकै मान्छे बढि सहभागी हुन पुगे । यही कारण सवै दलको नेतृत्व दुर्छिमले पाएको जस्तो लाग्छ । अन्य दलले दुर्छिमको नेतालाई नेतृत्वमा सारेपछि अन्य दलले पनि त्यहीँकै नेतालाई रणनैतिकरुपमा अघि सारेको पनि हुनसक्छ ।’

    सम्बन्धित समाचार