बिहिवार, मंसिर ९ २०७८
नेपाल वाइड
खोटाङ । ९ मंसिर, नेकपा (एकीकृत समाजवादी) र नेकपा मालेको जिल्ला कमिटि खोटाङ बीच एकीकरण (समायोजन) भएको छ । खोटाङका पुराना वामपन्थी नेता पुर्वसांसद कुलप्रसाद शर्मा फुयाँल (नेकपा (माले)का पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटि सचिव) लगायतका चार नेता नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटि बीच एकीकरण भएको हो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलसेर राई र नेकपा मालेका संयोजक मिनप्रसाद आचार्यले बिहिबार संयुक्त विज्ञप्ती जारी गर्दै दुई पार्टी कमिटि एक भएको घोषणा गरेका छन् ।
२५ कात्तिकमा फुयाँल सहित केन्द्रिय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल पनि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका थिए ।
‘नेकपा मालेका केन्द्रिय कमिटिका नेताले नेकपा (एसमा)मा जिम्मेवारी समेत लिइसक्नु भएको र सोही वार्ताबाट नेकपा मालेका विभिन्न जिल्ला कमिटि र अन्य नेताहरु समायोजित हुने निर्णय सार्वजनिक भइसकेको छ,’ विज्ञप्तीमा भनिएको छ,
‘सोही सहमतीको निरन्तरताको रुपमा आजका दिनदेखि दुई पार्टीको जिल्ला कमिटि एकीकरण भइ नेकपा (एकीकृत समाजवादी)मा कार्यरत रहने जानकारी गराउँदछौँ ।’ नेकपा (एकीकृत समाजवादी)का वार्ता टोली संयोजक बेदुराम भुषाल र नेकपा मालेका वार्ता टोली संयोजक फुयाँल बिच गत २५ कात्तिकमा नेकपा मालेको २५ सदस्यीय जिल्ला कमिटि नेकपा नेकपा (एस)मा समायोजन गर्ने सहमती भएको थियो । माले छाडेका फुयाँल नेकपा (एस)को केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका छन् ।
मालेका जिल्ला संयोजक आचार्यले पनि छुट्टै विज्ञप्ती जारी गर्दै आगामी दिनमा जिल्लामा मालेकोतर्फबाट प्रतिनिधित्व नरहने जानकारी दिएका छन् । ‘आजका मितिदेखि मालेको जिल्ला कमिटि, स्थानीय कमिटि, पार्टी सदस्य र जनवर्गीय संगठन नेकपा (एस)मा रुपान्तरण भई जिम्मेवारीका साथ कार्यरत रहन आव्हान गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘अव आइन्दा यस जिल्लामा नेकपा मालेको प्रतिनितिधित्व नरहने जानकारी गराउन चाहन्छु ।’