बिहिवार, मंसिर ९ २०७८
नेपाल वाइड
खोटाङ । ९ मंसिर, नेपाली कांग्रेस खोटाङको सभापतिमा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राई र पुर्वसभापति बिष्णुकुमार राईबीच झिनो मतान्तर देखिएको छ ।
दिउँसो साँढे २ बजेसम्ममा ४०० मत गणना सकिँदा सभापतिमा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राई अर्का उम्मेद्वार पुर्व सभापति राईभन्दा ४ मतले अगाडि देखिएका छन् ।
पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राईले १९६ मत पाउँदा पुर्व सभापति बिष्णुकुमार राईले १९२ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहिबार बिहानदेखि कांग्रेस पार्टी कार्यालयमा मत गणना जारी छ । प्रत्येक सय मत गणनापछि नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । मतदानमा १ हजार ३२२ मत खसेको थियो ।
जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पुर्व राज्यमन्त्री राई र रामचन्द्र पौडेल निकट पुर्व सभापति राई आमनेसामने भएका हुन् । पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राई र पुर्व सभापति राई बीचमा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
पुर्व राज्यमन्त्री राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन शैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सह–सचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् ।
यस्तै, पुर्व सभापति राईको प्यानलबाट उपसभापतिमा इवन राई र तिर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जराको मनोनयन–पत्र दर्ता भएको छ ।
पुर्व राज्यमन्त्री राईलाई जिल्ला सभापतिका चार आकांक्षीमध्ये देउवा निकट महासमिति सदस्य रबिप्रकाश राई र सिटौला निकट महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईको समर्थन छ ।
पुर्व सभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोईराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन रहेको छ ।
सभापतिको दावीबाट पछि हटेका रबिप्रकाश र भूपेन्द्र संघीय महाधिबेसन प्रतिनिधिका उम्मेद्वार बनेका छन् ।