बुधवार, मंसिर ८ २०७८
नेपाल वाइड
खोटाङ । ८ मंसिर, नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको ७ पदाधिकारी, ३२ जिल्ला सदस्य सहित २५ जना संघीय महाधिबेसन प्रतिनिधि छनौटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माबिमा मतदान सुरु भएको हो । कांग्रेसको निर्वाचनमा १ हजार ३७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ ।
कांग्रेस खोटाङको सभापतिका लागि पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राई र पुर्व सभापति बिष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । आगामी राष्ट्रिय महाधिबेसन तथा सातौं जिल्ला अधिबेसन अन्तरगत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पुर्व राज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पुर्व सभापति राई आमनेसामने भएका हुन् ।
पुर्व राज्यमन्त्री राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन शैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सह–सचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् ।
यस्तै, पुर्व सभापति राईको प्यानलबाट उपसभापतिमा इवन राई र तिर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जराको मनोनयन–पत्र दर्ता भएको छ ।
पुर्व राज्यमन्त्री राईलाई जिल्ला सभापतिका चार आकांक्षीमध्ये देउवा निकट महासमिति सदस्य रबिप्रकाश राई र सिटौला निकट महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईको समर्थन छ ।
पुर्व सभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोईराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन रहेको छ । सभापतिको दावीबाट पछि हटेका रबिप्रकाश र भूपेन्द्र संघीय महाधिबेसन प्रतिनिधिका उम्मेद्वार बनेका छन् । बिष्णुकुमार र रबिप्रकाशको निकटता कायम रहेको पनि चर्चा पनि कांग्रेस वृत्तमा छ ।