शनिवार, मंसिर ४ २०७८
नेपाल वाइड
खोटाङ । ४ मंसिर, नेपाली कांग्रेस खोटाङ क्षेत्रीय कार्य समिति (प्रदेश ख)को सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन् । कुल मतदाता (क्षेत्रीय प्रतिनिधि) संख्या ६७२ रहेको प्रदेश ‘ख’मा ६३५ मत खस्दा घिमिरेले ३३१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राती सार्वजनिक नजिता अनुसार उनका प्रतिद्धन्द्धी चण्डीकुमार राईले २७५ मत पाएका छन् ।
क्षेत्रीय उपसभापतिमा घिमिरे प्यानलकै महेन्द्र राईले ३२७ मत र राई प्यानलका रामचन्द्र केसीले २८८ मत ल्याएर उपसभापतिमा निर्वाचित भएका छन् । सचिवमा ३२४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र २८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन् ।
सह–सचिवमा पनि घिमिरेकै प्यानलबाट ३०२ मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् । पौडेल समुहका उम्मेद्वार घिमिरे देउवा र कोईराला टिमको सहयोगमा क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । राई कृष्ण सिटौ/गगन थापा समुहका उम्मेद्वार हुन् ।
घिमिरेलाई देउवा निकट पूर्व राज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेद्वार सर्वधन राई, पौडेल निकट पूर्व जिल्ला सभापति एवं जिल्ला सभापतिका उम्मेद्वार विष्णुकुमार राई, कोईराला निकट महासमिति सदस्य तथा पूर्व पार्टी सभापति सुवासकुमार पोखरेल, देउवा निकट महासमिति सदस्य एवं सभापतिका उम्मेद्वार रविप्रकाश राई लगायतले सहयोग गरेका थिए ।
राई भने सिटौला निकट महाधिबेसन प्रतिनिधि एवं जिल्ला सभापतिका उम्मेद्वार भूपेन्द्र राईका उम्मेद्वार हुन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख)मा भूपेन्द्र आफ्नो एकल प्यानल सहित चुनावी मैदानमा उत्रिएका हुन् ।