शुक्रवार, मंसिर ३ २०७८
नेपाल वाइड
खोटाङ । ३ कात्तिक, खोटाङमा नेपाली कांग्रेसले शैक्षिक संस्थालाई क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)को अधिबेसनस्थल बनाएको गुनासो आएको छ । शुक्रबार कांग्रेसको क्षेत्रीय कार्य समिति (प्रदेश क)को अधिबेसन हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित महेन्द्रोद्धय मावि र (प्रदेश ख)को अधिबेसन अन्तरगतको मतदान खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित सिमपानी क्याम्पसमा सञ्चालन भइरहेको छ ।
विद्यार्थी देखिने विद्यालय प्रांगण अहिले कांग्रेस नेता तथा कार्यकर्ताले भरिएको छ । विद्यालयको गेट तथा आसपासमा झण्डा, व्यानर र पर्चा टाँगिएका छन् ।
महेन्द्रोद्धय माविको कक्षा ८ देखि कक्षा १२ र प्राविधिक विषय पठन–पाठन हुँदैआएको भवनमा अधिबेसन आयोजना गरिएको बताइएको छ । खुला रहेको शैक्षिक संस्थामा राजनैतिक गतिविधि गर्नु अनुचित भएको दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्राध्यपक ध्रुब श्रेष्ठ बताउँछन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (ड) मा अधिकार प्राप्त अधिकारीको पूर्व स्वीकृति बिना कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण गर्ने, गराउने काम गर्न बन्देज छ ।
जिल्लामा राजनैतिक गतिविधिका लागि शैक्षिक संस्था प्रयोग भएको यो नौलो घट्ना भने होईन । हरेक राजनैतिक दलले विद्यालयमा राजनैतिक कार्यक्रम गर्दैआएको अभिभावकको गुनासो छ । कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले भने विद्यालयसँग अनुमती लिएर कक्षा नभएको समयमा प्लस टुको भवनमा कार्यक्रम गरिएको बताए ।

महेन्द्रोद्धय माबिले शुक्रबारका लागि बोलाएको अभिभावक बैठक र कांग्रेसको क्षेत्रीय कार्य समिति (प्रदेश क) को अधिबेसन स्थल एकै स्थान र मितिमा परेको छ । विद्यालयको तल्लो भवनमा कांग्रेसको मतदान र माथिल्लो भवनमा विद्यालयको बैठक बसेको छ ।
विद्यालयका प्रअ मनकुमार राईले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गर्ने, मंसिरदेखि बिहानी सत्रमा गणित, विज्ञान र अंग्रेजीको थप कक्षा सञ्चालन गर्ने र माघ महिनादेखि अन्तिम परीक्षा हुनुपुर्वसम्म बिहानी र बेलुकी सत्रमा गरी सबै विषयको परीक्षा केन्द्रित अभ्यासमा आधारित कक्षा सञ्चालनका विषयमा छलफल गर्न १ कात्तिकमा अभिभावकलाई पत्राचार गरेका थिए ।
नतिजा प्रकाशनपछि विद्यार्थीको प्रोग्रेस ग्रेड सिट र उत्तरुपुस्तिका लिनका लागि अभिभावकलाई १० बजे अनिवार्य उपस्थितिका लागि पत्र पठाइएको थियो । सुरुमा तल्लो भवनमा उपस्थित हुन पत्र पठाएको विद्यालयले लगत्तै माथिल्लो भवनमा उपस्थित हुन अर्को पत्र पठाएको अभिभावकले बताएका छन् ।