बिहिवार, मंसिर २ २०७८
नेपाल वाइड
खोटाङ । २ मंसिर, खोटाङमा नेपाली कांग्रेस खोटाङको क्षेत्रीय कार्य समिति (प्रदेश क र ख) को अधिबेसनमा चार वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । शुक्रबार हुने क्षेत्रीय कार्य समितिको अधिबेसनको चुनावी दौडमा देउवा, पौडेल, कोईराला, सिटौला/गगन थापा निकट चार प्यानल मात्र चुनावी मैदानमा देखिएका हुन् ।
जिल्ला सभापतिमा पुर्व राज्यमन्त्री सर्वधन राई, पुर्व सभापति बिष्णुकुमार राई, महासमिति सदस्य रबिप्रकाश राई र महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई आकांक्षी देखिए पनि उनीहरुले एक/एक वटा क्षेत्रमा मात्र आफ्नो उम्मेद्वार उठाएको पाइएको छ ।
जिल्ला सभापतिको दौडमा रहेका पुर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रबिप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पुर्व सभापति बिष्णुकुमार पौडेल र महाधिबेसन प्रतिनिधि भूपेन्द्र सिटौला/गगन थापासँग नजिक मानिन्छन् ।
सर्वधनको टिमले कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा भक्तजङ राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलिप राजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सह–सचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेद्वार बनाएको छ ।

यस्तै, कोईराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको टिमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।
जिल्ला सभापतिका अर्का उम्मेद्वार बिष्णुकुमारको टिमबाट क्षेत्रीय कार्य समिति (प्रदेश ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रविण राई, सह–सचिवमा कमल प्रधान र राजकुमार बस्नेत अघि सरेका छन् ।
यस्तै, भूपेन्द्रको प्यानलबाट क्षेत्रीय कार्य समिति (प्रदेश ख) को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कट्वाल, सह–सचिवमा मणिराज खत्री र शिव राई उम्मेद्वार बनाइएका छन् ।

जिल्ला सभापतिमा पौडेल र कोईरालाको एलायन्स भएको देखिन्छ । त्यही एलायन्सले मात्र दुबै क्षेत्रमा उम्मेद्वार अघि सारेको छ । सर्वधनले क्षेत्रीय कार्य समिति (प्रदेश ख) मा आफ्नो छुट्टै टिम उठाएका छैनन् ।
भूपेन्द्रले क्षेत्रीय कार्य समिति (प्रदेश क) मा आफ्नो प्यानल बनाएका छैनन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख) मा देउवा, पौडेल र कोईरालाको सहकार्य भएको श्रोत बताउँछ ।
यसो हुँदा (प्रदेश ख) मा भूपेन्द्र एक्लैले अन्य प्यानलसँग भिड्नुपर्ने देखिएको छ । (प्रदेश क) मा आफ्नो छुट्टै उम्मेद्वार नउठाएका भूपेन्द्रको टिमले सर्वधनको टिमलाई सहयोग गर्ने सम्भावना रहेको बताइन्छ । केन्द्रमा देउवा निकट भए पनि जिल्लामा सर्वधन र रबिप्रकाशको दुरी टाढा रहेको कांग्रेसभित्रै चर्चा छ ।
क्षेत्रीय कार्य समिति (प्रदेश क) को अधिबेसन हलेसीमा र क्षेत्रीय कार्य समिति (प्रदेश ख) को अधिबेसन सिमपानीमा हुँदैछ । क्षेत्रीय कार्य समितिको अधिबेसनले ७ पदाधिकारी र १६ प्रदेश अधिबेसन प्रतिनिधि चयन गर्ने कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । क्षेत्रीय अधिबेसनमा ७/७ सय क्षेत्रीय प्रतिनिधिले भोट हाल्ने कांग्रेसले जनाएको छ । निर्वाचन प्रकृया बिहान ६.३० बजेबाटै सुरु हुने सचिव जोशीले बताए ।
