Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ‘दुबई एक्स्पो’मा नेपाली मौलिक संस्कृति प्रदर्शन

    ‘दुबई एक्स्पो’मा नेपाली मौलिक संस्कृति प्रदर्शन


    • आइतवार, कार्तिक २८ २०७८

    • नेपाल वाइड


    ‘दुबई एक्स्पो’मा नेपाली मौलिक संस्कृति प्रदर्शन
    दुबई एक्स्पोमा साकेला नृत्य प्रस्तुत गर्दै नेपाली राई समुदाय । तस्बिर सौजन्य : तिलक साम्पाङ राई

    खोटाङ । २८ कात्तिक, यूएईमा जारी ‘दुबई एक्स्पो’मा नेपालका आदिबासी जनजातीको मौलिक संस्कृति प्रदर्शन सुरु गरिएको छ । गत १५ असोजबाट सुरु भएको ‘दुबई एक्स्पो–२०२०’मा नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाईमा नेपालका विभिन्न जातजातीको मौलिक पहिचान झल्काउने साँस्कृतिक झाँकी तथा नाच प्रदर्शन सुरु गरिएको हो ।

    शुक्रबार किरात राई यायोक्खाले आ–आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजा सहित मौलिक झाँक्री तथा साकेला नाच प्रस्तुत गरेको छ ।

    मौलिक संस्कृति झल्किने भेषभुषा सहितको झाँकीको प्रदर्शनीले दुबईमा नेपालको झल्को दिलाएको आदिबासी जनजाती पत्रकार महासंघ यूएईका सदस्य तिलक साम्पाङ राईले जानकारी दिए । नेपाली झाँकीले एक्स्पोमा आएका विदेशी पर्यटकको समेत ध्यान खिचेको थियो ।

    ६ महिनासम्म चल्ने एक्स्पोमा प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघसंस्थामार्फत तामाङ समुदायको सेलो, नेवार समुदायको लाखे, मगर समुदायको नाच लगायतका साँस्कृतिक झाँकी तथा नाच प्रदर्शन गर्ने तयारी गरिएको छ ।

    विश्व स्तरिय मञ्चमा नेपाली मौलिक संस्कृति प्रस्तुत हुनु सिंगो देशको लागि गौरबको विषय भएको आदिवासी जनजाती महासंघ यूएईका संरक्षक पासाङ शेर्पाले बताए । नेपाली मौलिक संस्कृतिलाई बिश्व सामु चिनाउन ‘दुबई एक्स्पो’ महत्वपूर्ण प्लेटफर्म बनेको दावी गरिएको छ ।

    दुबई एक्स्पोका लागि आयोजकले नेपाललाई २१३ वर्गमिटर फिट ठाउँ उपलव्ध गराएको छ । दुबई एक्स्पोमा इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले नेपाली टोलीको नेतृत्व गरिरहेको छ ।

    एक्स्पोमा नेपाली मौलिक सजावटका स्टलहरु पनि राखिएका छन् । एक्स्पोमा विश्वका १८० देशको पेभेलियन बनाइएको छ । सन् २०२० मै गर्न खोजिएको एक्स्पो कोरोना महामारीका कारण यस वर्ष सरेको हो ।

    सम्बन्धित समाचार