शनिवार, कार्तिक २७ २०७८
नेपाल वाइड
खोटाङ । २७ कात्तिक, अधिबेसन मिति नजिकिँदै जाँदा खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि धमाधम उम्मेद्वारी घोषणा सुरु भएको छ ।
केही आकांक्षीले औपचारिक र अनौंपचारिक रुपमा जिल्ला सभापतिमा उम्मदेवारी दिने घोषणा गरिसकेको अवस्थामा कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईले आगामी ६ मंसिरमा हुने जिल्ला अधिबेसनमा जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राईले शुक्रबार खोटाङबजारमा भएको आफु पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।
उनी केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् । राईको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए । अन्य पदमा उठ्ने उम्मेद्वारको टुंगो केही दिनभित्र टुंग्याइने जनाइएको छ ।
२३ कात्तिक र २४ कात्तिकमा हलेसीमा बसेको कांग्रेसकै एक पक्षको बैठकले पुर्व जिल्ला सभापति बिष्णुकुमार राईलाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । उनी केन्द्रमा पौडेलसँग नजिक मानिन्छन् ।
उपसभापतिमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराईलाई अघि सार्ने निर्णय भएको बैठकमा सहभागी कांग्रेस नेताले बताएका छन् ।
सचिवमा वर्तमान सचिव ज्ञानेन्द्र जोशी र समिर राईलाई उठाउने तयारी गरिएको छ । सचिवका अर्का आकांक्षी सुमनबाबु आचार्य ‘व्याक’ भएका छन् ।
यस्तै, सह–सचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने तयारी गरिएको जनाइएको छ । तर, सचिव र सह–सचिवको उम्मेद्वारका विषयमा थप छलफल भइरहेको उपसभापतिका उम्मेद्वार इवन राईले बताए ।
कांग्रेसको जिल्ला सभापतिमा पुर्व राज्यमन्त्री सर्वधन राई र महासमिति सदस्य रबिप्रकाश राई पनि आकांक्षी छन् । पुर्व राज्यमन्त्री राईले यसअघि आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभापतिको उम्मेद्वारीबाट व्याक नहुने बताएका थिए । प्रदेश क्षेत्र (क) र (ख)को अधिबेसनको नतिजा अनुसार जिल्लाको समिकरण फेरबदल हुनसक्ने आँकलन गरिएको छ ।