बिहिवार, कार्तिक २५ २०७८
नेपाल वाइड
खोटाङ । २५ कात्तिक, नेकपा (माले)का पोलिटव्यूरो सदस्य एवं खोटाङका पुर्व सांसद कुलप्रसाद फुयाँल सहित तीन जनाले पार्टीबाट राजीनामा दिएका छन् ।
पार्टी नेतृत्वप्रति असहमती जनाउँदै पुर्व सांसद कुलप्रसाद फुयाँल, केन्द्रिय सदस्य श्यामराज राई र कारीप्रसाद यादवले पार्टीको सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् । मालेबाट राजीनामा दिने फुयाँल प्रदेश कमिटि सचिव पनि हुन् ।
पार्टी नेतृत्वले पार्टीभित्रका जायज सुझाव र फरक मतलाई निषेध गर्ने नीति अवलम्बन गर्दैआएको, पार्टीभित्र उठ्ने आलोचनालाई पुर्वाग्रही ढंगले हेर्दैआएको अवस्थामा केही समयअघि केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमलाई परोक्ष रुपमा सहयोग र समर्थन गर्ने नीति अवलम्बन गरेर गलत कदमलाई नै निरन्तरता दिने कार्य गरेको भन्दै तीन नेताले पार्टी सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा प्रस्तुत गरेको बताएका छन् । अर्का केन्द्रिय सदस्य शंकर पोखरेलले पनि अलग्गै राजीनामा बुझाएका छन् ।
पार्टी महाधिबेसनद्धारा पारित विचार, दृष्टिकोण र कार्यनीतिका सम्वन्धमा लिएका दृष्टिकोणहरुलाई पार्टीको मुल नेतृत्वले विवादास्पद र स्वेच्छाचारी रुपमा आफुखुसी व्याख्या विश्लेषण गर्दै आएको पार्टी केन्द्रिय कमिटि सचिवलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।
‘खासगरी नेपालको संविधानमा उल्लेखित महत्वपूर्ण अन्तरवस्तु, संघीयता, धर्मनिरपेक्षण, गणतन्त्र लगायत नजअधिकारका विषयमा दुविधापूर्ण दृष्टिकोणहरु अलवम्बन गर्दैआएको छ,’ राजीनामा पत्रमा भनिएको छ, ‘यी दृष्टिकोणहरु पार्टीको गत महाधिबेसनले पारित गरेको नीति, विचार, दृष्टिकोण र कम्यूनिष्ट पार्टीले वर्तमान परिवेशमा लिनुपर्ने अग्रगामी दृष्टिकोण २०६२/०६३ को महान जनआन्दोलनको जगमा टेकेर अगाडि बढ्नुपर्नेमा सोभन्दा भिन्न रुपमा पुरातनवादी २०१७ साले दृष्टिकोण अगाडि सार्दैआएको छ, जसको कारणले पार्टीको विकास अवरुद्ध हुँदैआएको छ ।’ नेकपा (माले)बाट राजीनामा दिएका पुर्वसांसद फुयाँल सहितका नेता नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रवेश गर्ने तयारीमा छन् ।