Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङ कांग्रेसको सभापतिमा विष्णुकुमार राईको उम्मेद्वारी, औपचारिक घोषणा बाँकी

    खोटाङ कांग्रेसको सभापतिमा विष्णुकुमार राईको उम्मेद्वारी, औपचारिक घोषणा बाँकी


    • बिहिवार, कार्तिक २५ २०७८

    • नेपाल वाइड


    खोटाङ कांग्रेसको सभापतिमा विष्णुकुमार राईको उम्मेद्वारी, औपचारिक घोषणा बाँकी
    होलेसुङ रिसोर्टमा उम्मेद्वारको विषयमा छलफल गर्दै कांग्रेस नेता । तस्बिर : विष्णु आभूषणको फेसबुक

    खोटाङ । २५ कात्तिक, अधिबेसनको मिति नजिकिएसँगै खोटाङमा कांग्रेसको जिल्ला अधिबेसनको सारगर्मी बढेको छ । आगामी ६ मंसिरमा हुने जिल्ला अधिबेसनमार्फत पार्टीको नेतृत्वमा पुग्नका लागि फरक–फरक समुह बनाएर उम्मेद्वार तयार गर्ने होड चलेको छ ।

    कतिपय नेताको मतदाता फकाउने र आफ्नो समुहमा ल्याउनका लागि दौडधुप चलिरहेको छ । २३ कात्तिक र २४ कात्तिकमा हलेसीमा बसेको कांग्रेसको एक पक्षको बैठकले पुर्व जिल्ला सभापति बिष्णुकुमार राईलाई जिल्ला सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

    उपसभापतिमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराईलाई अघि सारेको बैठकमा सहभागी कांग्रेस नेताले बताएका छन् । यसअघि सभापतिमा दावी गर्दैआएका भट्टराई उपसभापतिका उम्मेद्वार बनाइएका हुन् ।

    सचिवमा भने तीन जनाको दावी देखिएको छ । वर्तमान सचिव ज्ञानेन्द्र जोशी, समिर राई र सुमनबाबु आचार्य सचिवको आकांक्षी देखिएका छन् । यस्तै, सह–सचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने छलफल गरिएको जनाइएको छ ।

    तर, उम्मेद्वारीको औपचारिक घोषणा गर्न भने बाँकी नै छ । जिल्ला सभापति र उपसभापति निश्चितजस्तै भएपनि सचिव र सह–सचिवको उम्मेद्वारका विषयमा भने छलफल भइरहेको जनाइएको छ । सभापतिका उम्मेद्वार राई केन्द्रमा पौडेलसँग नजिक मानिन्छन् । यही उम्मेद्वारीका विषय केही समयअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    पुर्वसभापति राईको उम्मेद्वारीलाई वर्तमान सभापति नरेश श्रेष्ठ, महासमिति सदस्य सुवासकुमार पोखरेल, दिनेश राई, बीरकाजी राई, हिरा गुरुङ लगायतको समर्थन छ । धेरैजसो भातृ तथा शुभेच्छुक संगठन समेत आफ्नो पक्षमा रहेको दावी गरिएको छ ।
    क्षेत्र नम्बर १ को सभापतिका लागि राजेन्द्र राई र भक्तजङ राईबिचमा प्रतिष्पर्धा हुने कांग्रेसले जनाएको छ ।

    क्षेत्र नम्बर २ को सभापतिमा दिनेश घिमिरे र चण्डीकुमार राईबिचमा प्रतिष्पर्धा हुने बताइएको छ । राजेन्द्र र दिनेश सभापतिका उम्मेद्वार बिष्णुकुमारकै टिमबाट क्षेत्रीय सभापतिमा लड्न लागेका हुन् । यद्यपी, अधिबेसनको दिनसम्ममा कतिपय उम्मेद्वार तलमाथि हुनसक्ने अनुमान छ ।

    कांग्रेसको जिल्ला सभापतिमा पुर्व राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रबिप्रकाश राई र महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई पनि आकांक्षी छन् ।

    पुर्व राज्यमन्त्री राईले यसअघि आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभापतिको उम्मेद्वारीबाट व्याक नहुने बताएका थिए । क्षेत्र नम्बर १ र २ को अधिबेसनको नतिजा अनुसार समिकरण फेरबदल हुनसक्ने आँकलन गरिएको छ । एक ठाउँमा उभिएर सिंगो कांग्रेसको साझा उम्मेद्वार तय गर्ने विषयमा भने नेताहरु एक ठाउँमा आउन हिच्किचाइरहेका देखिन्छन् ।

    सम्बन्धित समाचार