सोमवार, कार्तिक २२ २०७८
नेपाल वाइड
खोटाङ । २२ कात्तिक, युवा जागे गाउँ बन्छ । त्यसका लागि युवामा राजनैतिक सुझबुझ हुन आवश्यक छ । राजनीतिमा युवाको उपस्थिति बलियो हुन जरुरी छ ।
यही मान्यता अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी २० वर्षीय शोभा बुढाथोकी नेकपा एमाले नगर कमिटिको सदस्यको जिम्मेवारी सम्हाल्न अघि सरेकी छन् । ७५ सदस्यीय नगर कमिटिमा शोभा कान्छी सदस्य पनि हुन् ।
पारिवारिक पृष्ठभुमी राजनैतिक थिएन । यस अघिसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा पनि थिइनन् । पञ्च माबि दिक्तेलबाट कक्षा १२ उत्तिर्ण गरेर लोकसेवाको तयारीमा थिईन् उनी ।
युवा त्यसमा पनि महिला भएका कारण राजनीतिमा चासो भने थियो । एमालेको १० औं राष्ट्रिय महाधिबेसन अन्तरगत भएको नगर अधिबेसनमा सदस्यमा बसेर काम गर्न प्रस्ताव आयो । उनले स्वीकार गरिन् र जिम्मेवारी लिएकी हुन् ।
राजनीतिमा महिलाको उपस्थिति देखाउँदै गाउँघरमा भएका विकृति, बिसंगतीका विरुद्ध लड्का लागि नगर कमिटि सदस्यको जिम्मेवारी लिएको शोभा बताउँछिन् ।
‘गाउँमा धेरै समस्या छन् । विकास र परिवर्तनका सवालमा हाम्रो गाउँ पछि परेको छ । महिला पछाडि पारिएका छन्,’ उनले भनिन्, ‘गाउँको अवस्थालाई नजिकबाट देखे बुझेको छु । युवा जागे भने मात्र गाउँ बन्छ भन्ने सोचका साथ पार्टीको जिम्मेवारी लिन अघि सरेकी हुँ । नेतृत्वमा जानका लागि महिलालाई उत्प्रेरणा पनि मिलोस् भन्ने कामना पनि छ ।’
आफ्नो पार्टीका नेताले गलत गरे पनि ताली पिटेर समर्थन गर्ने अन्धभक्तको जमात सबै पार्टीमा बग्रेल्ती छन् । तर, शोभा ‘गलतलाई गलत र सहीलाई सही’ भन्न दम राख्ने बताउँछिन् ।
उनले आफ्नो करिअरका लागि पहिलो प्राथमिकता भने पढाईलाई दिने बताएकी छन् । ‘गाउँको विग्रँदो अवस्था देखेर राजनीतिमा पाइला चालेकी हुँ,’ शोभाले भनिन्, ‘पार्टीसँग सहकार्य गर्दैै अघि बढ्नु छु । पहिलो प्राथमिकता भनेको त पढाई नै हो ।’