आइतवार, कार्तिक २१ २०७८
नेपाल वाइड
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको बैंकचोकलाई राष्ट्रिय विभुती शंखधर साख्वा बैंकचोक नामाकरण गरिएको छ । नेपाल सम्वत ११४२, छठ तथा उभौली चाड–२०७८ को अवशरमा शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बैंकचोकलाई शंखधर साख्वा बैंकचोक नामाकरणको घोषणा गरेका हुन् ।
राष्ट्रिय विभुती शंखधर साख्वाको सम्मान र सम्झनामा दिक्तेलको पुरानो बैंकचोकको नाम अगाडि शंखधर साख्वाको नाम राखिएको हो । नेपाल सम्वत ११४२ को अवशरमा दिक्तेलबजार सामाजिक गुठी, नेवा देय् दवु खोटाङ र नेवा मिसा दवु खोटाङको संयुक्त पहलमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रमका बिच बैंकचोकको नयाँ नाम राखिएको हो ।
हाललाई बैंकचोकको शंखधर साख्वा बैंकचोक नामाकरण गरेर व्यानर मात्र टाँगिएको नेवा देय् दवु खोटाङका सचिव गोपाल श्रेष्ठले बताए । शंखधर साख्वा बैंकचोकको नामाकरण घोषणा गर्दै मेयर रिजालले सो स्थानमा आगामी वर्ष शंखधर साख्वाको शालिक राख्ने प्रतिवद्धता जनाएका छन् ।
शंखधर शाख्वा बैंकचोक घोषणा तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्नुअघि दिक्तेलबजारको रत्नपार्कदेखि हाटडाँडा र हाटडाँडाबाट बैंकचोकसम्म प्रभातफेरी निकालिएको थियो ।
दिक्तेलबजार सामाजिक गुठीको १२ कात्तिकमा बसेको एकल बैठक तथा गुठी, नेवा द्येदवु र नेवा मिसा दवुको १४ कात्तिकमा बसेको संयुक्त बैठकले नेपाल सम्वत ११४२ लाई भव्यतापुर्वक मनाउने निर्णय गरेको थियो ।
नेपाल सम्वतको कार्यक्रमलाई मध्यनगर गर्दै दिक्तेलबजारका घर तथा आँगनमा ध्वजा, पतका र तोरण टाँग्ने, राष्ट्रिय झण्डा, नेवा द्येदवुको झण्डा, राष्ट्रिय विभुती शंखधर साख्वाको फोटो राखिएको नेवा देय् दवुका सचिव श्रेष्ठले बताए ।
कोभिड–१९ को महामारीपछि आफ्नो कार्यक्रम स्थगन गरेको सामाजिक गुठीले यस वर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै नेपाल सम्वत मनाएको जनाएको छ । कार्यक्रममा सहभागी नेवारी पोषाकमा उपस्थित भएका थिए ।