शनिवार, कार्तिक ६ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ६, खोटाङमा एकै दिन १५ जनालाई बेवारिसे कुकुरले टोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा शनिबार १५ जनालाई बेवारिसे कुकुरले टोकेको हो ।
कुकुरको टोकाईबाट घाईते भएकामध्ये दुई जनालाई शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए । अन्य १३ जना भने हप्ता दिनभित्र तीन डोजको एन्टीरेविज खोप लगाउनेगरी पहिलो खोप लगाएर फर्किएका छन् ।
कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको प्रत्यक्षदर्शीले बताएका छन् । रत्नपार्क क्षेत्रमा सबैभन्दा बढि कुकुरले टोकेको छ । कुकुरले अस्पताल चोकमा समेत एक जनालाई टोकेको छ ।
एकै दिन १५ जनालाई कुकुरले टोकेपछि साविकको सदरमुकाम दिक्तेलबजारमा कुकुर आतंक फैलिएको छ । गाउँ–गाउँमा समेत कुकुरको आतंक फैलिरहेको छ ।