बिहिवार, कार्तिक ४ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ४, खोटाङ–काठ्माण्डौं आउजाउ गर्ने राजमार्गका विभिन्न खण्डमा खसेको पहिरो पन्छाइएपछि यातायात सेवा सुचारु भएको छ । ३१ असोजदेखि २ कात्तिकसम्म परेको वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा खसेको पहिरो पन्छाइएपछि दिक्तेल–काठ्माण्डौं यातायात निर्वाध सुचारु भएको हो ।
पहिरो पन्छाइएपछि काठ्माण्डौंबाट ओखलढुंगा र सोलुखुम्बु आवत–जावत गर्ने सवारी साधन समेत निर्वाध गुड्न थालेका छन् । सडकमा थुप्रिएको पहिरो पन्छाएर सवारी साधन वारपार गर्ने वातावरण बनाइए पनि सडकलाई पूर्णरुपमा ‘क्लियर’ गर्न बाँकी देखिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
वर्षाका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा, सिन्धुलीको नागथान, कालीआँप, हैवार लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।
खुर्कोट नजिक पर्ने हैवारमा बिशाल पहिरो खस्दा २ कात्तिकदेखि ३ कात्तिकको साँझसम्म यात्रु तथा मालबाहक सवारी साधन रोकिँदा हजारौं यात्रु सडकमै अलपत्र परेका थिए । हैवारमा पहिरो खस्दा खोटाङ सहित ओखलढुंगा र सोलुखुम्बुका यात्रु थुनिएका थिए । हैवारमा पटक–पटक पहिरो खस्ने गरेको छ ।
हैवारमा गएको पहिरोले दुई दिनसम्म बाटो थुनेपछि कतिपय यात्रु तथा मालबाहक सवारी साधन सिन्धुली–उदयपुरको कटारी–घुर्मी हुँदै ओहोर–दोहोर गरेका थिए । घुमाउरो बाटो प्रयोग गर्दा कम्तीमा १२० किलोमिटर घुम्नु परेको यातायात व्यवसायीले बताएका छन् ।
कदुवामा ३ कात्तिकमा पन्छाइएको पहिरो पुःन खसेपछि ४ कात्तिक बिहान पन्छाएर सडक सुचारु गराइएको हो । साँघुरो सडक भएको तथा छोटो दुरीमा घुम्ती भएका कारण वर्षा याममा बढिमात्रामा सडकमा पहिरो खस्ने गरेको महासचिव हिङमाङले बताए । ‘पहिरो खसेको ठाउँमा ट्र्याक खोलियो तर अझै पनि जोखिम छ ।
सडक पूर्णरुपमा क्लियर गरिएको छैन,’ महासचिव हिङमाङले भने, ‘सडक चौडा नहुनु र नजिक–नजिक टर्निङ भएका कारण पहिरोले बढि क्षती पु¥याएको हो । छोटो टर्निङमा माथिबाट पहिरो खस्दा तल्लो टर्निङ पनि बिगारेको देखिन्छ ।’