मंगलवार, आश्विन २६ २०७८
नेपाल वाइड
काठमाण्डौ । दशैंका लागि नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । अझै पनि घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ ।
१ असोज यता उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
उनका अनुसार, दशैंको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । “दुई-तीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ,” उनले भने ।
दुई वर्ष अघिसम्म २५ लाखभन्दा बढीले दशैंको समयमा उपत्यका छाड्ने गरेका थिए । गत वर्ष कोभिड–१९ सङ्क्रमणको जोखिम रहेकाले त्यो सङ्ख्या घटेको थियो । गत वर्ष चार–पाँच लाखले मात्रै उपत्यका छाडेको अनुमान गरिएको थियो ।
यो दशैंमा गत वर्षभन्दा धेरै यात्रु भए पनि सामान्य अवस्थाभन्दा कम रहेको यातायात व्यवसायी बताउँछन् । सरकारले घटस्थापनाको दिन २१ असोजदेखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएका थिए । यात्रुलाई समस्या नहोस् भनी विभिन्न स्थानमा सहायता कक्ष राखिएका छन् ।
घटस्थापनापछि केही दिनसम्म कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यति वेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए ।
विजया दशमीको दिनदेखि भने काठमाडौं उपत्यका फर्कनेको सङ्ख्या धेरै हुन्छ । “अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर भरिएर आउँछन्,” उनले भने ।
दशैंको समयमा सडकमा सवारी साधनको चाप बढ्ने भए पनि यो वर्ष देशभर धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत गर्न नसकिएको सडक विभागले जनाएको थियो । एक साता यता भने तीव्र रूपमा मर्मत भइरहेको छ । रासस