Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    भवन निर्माणको काम रोक्का

    भवन निर्माणमा ठेकेदारको बदमासी : आफैले बनाए नक्कली ल्याव रिपोर्ट

    भवन निर्माणमा ठेकेदारको बदमासी : आफैले बनाए नक्कली ल्याव रिपोर्ट

    निर्माण व्यवसायीलाई स्थलगत ल्याव टेष्ट गर्ने मौका

    • आइतवार, आश्विन २४ २०७८

    • नेपाल वाइड


    भवन निर्माणमा ठेकेदारको बदमासी : आफैले बनाए नक्कली ल्याव रिपोर्ट
    ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधिन प्रशासकीय भवन । तस्बिर : खेमराज पुरी

    खोटाङ । असोज २४, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको पहिलो ग्राउण्ड फ्लोरको पिलरको गुणस्तर परिक्षणका लागि स्याम्पल (कंक्रिट क्यूव) संकलन गरेर २१ जेठ २०७८ मा ल्यावटेष्ट गर्न गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा पठाइए ।

    गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ उल्लेख गर्दै निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड बैभव जेभीलाई २३ असारमा ल्याव रिपोर्ट उपलव्ध गरायो ।

    निर्माण कम्पनीले केही हप्ता ‘होल्ड’ गरेको सो ल्याव रिपोर्ट १० साउनमा मात्र गाउँपालिकालाई उपलव्ध गराइए । तर, दुई दिन नबित्दै निर्माण व्यवसायीले पहिलाको रिपोर्टमा त्रुटी भएको भन्दै गाउँपालिकालाई अर्को नयाँ ल्याव रिपोर्ट इमेलमार्फत पठायो जहाँ ‘२३ असारमा परिपत्र भएको क्यूव टेष्टको रिपोर्ट मेसिनमा केही त्रुटी भइ गलत रिपोर्ट प्रिन्ट भएकाले उक्त रिपोर्ट फेरी सच्याएर पठाइएको’ उल्लेख छ ।

    तर, २७ भदौ २०७८ मा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट गाउँपालिकालाई प्राप्त भएको एउटा पत्रले निर्माण कम्पनीले फेल भएको ल्याव रिपोर्टको सट्टा पास भएको नक्कली ल्याव रिपोर्ट तयार पारेर पेश गरेको खुलेको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव बताउँछिन् । गाउँपालिकाको भवनको पिलरको १४ दिन र २८ दिनको कंक्रिट क्यूव टेष्टका लागि गुणस्तर अनुसन्धान केन्द्र पठाइएको थियो ।

    प्राविधिक शाखामा पेश भएको ल्याव रिपोर्ट अध्ययन र बिश्लेषण गर्दा नक्कली र झुटो भएको आशंकामा सो ल्याव रिपोर्टको सत्यता ‘भेरीफाइ’का लागि गाउँपालिकाले १५ भदौ २०७८ मा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पत्राचार गरेको थियो ।

    केन्द्रको जवाफपछि निर्माण कम्पनीले सरकारी कागजात दुरुपयोग गरेको प्रमाणित भएको हो । निर्माण व्यवसायीले उपलव्ध गराएको रिपोर्टमा लेवोरेटरी इन्चार्जको हस्ताक्षर फोटोकपी गरेर टाँसेको, पत्रमा ‘महोदय’, ‘चिट्टी’ जस्ता अनअफिसियल शव्द उल्लेख गरेको, पिलरको स्ट्रेन्थ अधिक देखाइएको आधारमा शंका लागेपछि सत्यता ‘भेरीफाइ’ गरिएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताईन् ।

    भवनको पिलरको स्ट्रेन्थ मापदण्ड र गुणस्तरयुक्त रहेको उल्लेख गरिएको नक्कली ल्याव रिपोर्ट तयार पारेर पेश गरेको निर्माण व्यवसायीले भने भवन निर्माणको कामलाई अघि बढाइरहेको थियो ।

    निर्माण कम्पनीका प्रतिनिधि गणेश राईले भने ‘फेक’ ल्याव रिपोर्ट तयार पारेको अस्वीकार गर्छन् । गाउँपालिकाका इन्जिनियर बाबुराम राउतसँग लेनदेनमा कुरा नमिलेपछि ल्याव टेष्ट रिपोर्ट फेल गराइएको उनको दावी छ ।

    ‘ल्याव रिपोर्ट फेल भएको होईन त्रुटी भएको हो । कम तौलको कंक्रिट क्यूव परिक्षणमा लगिएको छ । १४ दिनकोभन्दा २८ दिनको कंक्रिट क्यूव स्ट्रेन्थ कम देखिएको छ जुन शंकास्पद छ,’ राईले भने, ‘इन्जिनियरले मिल्छ भनेपछि खुरुखुरु काम गरिएको हो । ल्याव टेष्ट फेल गराइएको हो । हाम्रो रोहवरमा ल्याव परिक्षण हुनुपर्छ ।’ प्रतिनिधि राईले इन्जिनियर राउतलाई कारबाही गर्न र पुःन ल्याव परिक्षणको माग गर्दै १३ असोजमा गाउँपालिका समक्ष निवेदन दिएको जनाए ।

    ऐसेलुखर्क गाउँपालिकाले प्रदेश सरकारसँगको अनुदानमा प्रशासकीय भवन निर्माणका लागि २६ माघ २०७६ मा टेण्डर आव्हान गरेको थियो । निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड भैवव जेभीले भवन निर्माणका लागि १३ जेठ २०७७ मा प्रथम पटक सम्झौता गरेको थियो ।

    ३ करोड ६९ लाख ८५ हजार ८७३ रुपैयाँमा टेण्डर आव्हान गरिएको भए पनि सो निर्माण कम्पनीले मूल्या अभिबृद्धि कर सहित २ करोड ६८ लाख ४३ हजार ३४६ रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का लिएको थियो ।

    भवन निर्माणको काममा ढिलासुस्ती भएपछि १९ माघ २०७७ मा २०७८ असार मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । हालसम्म करिब ३० प्रतिशत मात्र भवन निर्माणको काम पुरा भएको छ । ३० चैत्र २०७७ मा पेश्की २२ लाख ५० हजार फस्र्यौट गरेको निर्माण व्यवसायीले ३९ लाख ९० हजार ७५३ रनिङ बिल मार्फत भुक्तानी लिइसकेको छ ।

    भवन निर्माणको काम रोक्का

    ‘फेक’ ल्याव रिपोर्ट ‘भेरीफाई’ नभएसम्मका लागि गाउँपालिकाले १५ भदौ २०७८ मा पत्राचार गर्दै निर्माण कम्पनीलाई काम रोक्न पत्राचार गरेको थियो ।

    निर्माण व्यवसायीले नक्कली ल्याव रिपोर्ट पेश गरेको, पटक–पटक बेवास्ता गर्दै कार्यालयलाई जानकारी नदिइ ढलान गरेको, १४ भदौमा ढलान गरेको पिलरको फर्मा २४ घण्टा नभइ खोलेको, गुणस्तरहित काम गरेको पत्रमा उल्लेख छ ।

    त्यस यता भवन निर्माणको काम तथा भुक्तानी रोकिएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । तर, नक्कली रिपोर्ट पेश गरेको निर्माण व्यवसायीले सोभन्दा अगावै भवनको पहिलो स्ल्याव ढलान गरिसकेको थियो ।

    सो स्ल्यावको कंक्रिट क्यूव टेष्ट (एम २०/२१) को रिपोर्ट समेत मापदण्ड र गुणस्तर कायम नभएको पाइएको गाउँपालिकाले जनाएको छ । ल्याव रिपोर्ट फेल आउँदा पनि निर्माण कम्पनीले आफुखुसी काम गरेको गाउँपालिकाले जनाएको छ ।

    भवन निर्माणमा निर्माण व्यवसायीले चरम ढिलासुस्ती र गुणस्तरहिन काम गरेको गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेल बताउँछिन् । १० साउनमा नक्कली ल्याव रिपोर्ट पाएको गाउँपालिकाले झण्डै महिना दिनपछि मात्र काम रोक्न पत्राचार गर्नुले ठेकेदारलाई उन्मुक्ती दिन खोजिएको कतिपयको बुझाई छ ।

    निर्माण व्यवसायीलाई स्थलगत ल्याव टेष्ट गर्ने मौका

    भनेजस्तो काम गर्न अटेरी गर्दैआएको निर्माण व्यवसायीले भवनको पिलरको पास भएको नक्कली ल्याव रिपोर्ट बनाएर खैलाबैला मच्चिएपछि गाउँपालिकाले १३ असोजमा सर्वदलीय बैठक बोलाएको थियो ।

    सो छलफलमा निर्माण व्यवसायीले स्थलगत ल्याव परिक्षणको मौकाका लागि आग्रह गरे बमोजिम गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट वा सोभन्दा माथिल्लो आधिकारिक सरकारी निकायबाट विज्ञ ल्याएर स्थलगत ल्याव परिक्षण गर्ने र सोही परिक्षणका आधारमा भवन निर्माणको विषयमा अन्य निर्णय लिने सुझाव अनुमोदन भएको छ ।

    सर्वदलीय छलफलले निर्माण व्यवसायीविरुद्ध ‘एक्सन’मा जानुभन्दा पनि बचाउमै निर्णय गरेको देखिएको एक स्थानीय नेताले बताए । सर्वदलीय वैठककै निर्णय अनुसार गाउँपालिकाले ‘आधिकारिक निकायबाट दक्ष जनशक्ती ल्याएर तीन दिनभित्र कार्यस्थलमै ल्याव परिक्षण गर्न’ भन्दै निर्माण कम्पनीलाई १९ असोजमा पत्राचार गरेको छ ।

    भवन निर्माणको काम ‘क्रिटिकल’ बनेपछि निर्माण कम्पनीको सुरुवाती चरणदेखि हालसम्मको निर्माण गतिविधि र गुणस्तरलाई मध्यनजर गर्दै कानून बमोजिम कारबाही अघि बढाउने, फर्ममेन्स ग्यारेन्टी जफत गर्ने, ठेक्का सम्झौता रद्ध गर्ने र कालो सूचीमा राख्न सिफारिस गर्ने निर्णय गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत यादव बताउँछिन् ।

    ‘गाउँपालिकाको भवन समयमै बनोस्, गुणस्तरिय होस् भन्ने पक्षमा छौँ । तर, निर्माण कम्पनीले गरेको ढिलासुस्ती र कमजोरीमा गाउँपालिका परिवार कारबाही गर्न तयार छ र गर्छ,’ यादवले भनिन् ।

    यस्तै, निर्माण कम्पनीले हालसम्म भुक्तानी लिएको करिब ६२ लाख रकम बराबरको बिगो दावी गर्ने, फर्जी कागजात पेश गरी कार्यालयलाई छल गरेर दोश्रो पटकको रनिङ बिल भर्पाइ भुक्तानी लिन खोजेकोमा छानविन गरी कारबाहीका लागि सम्वन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    सोही अनुसार धरौटी जफतको कार्य प्रकृया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत यादव बताउँछिन् । भवन निर्माणको म्याद गत असार मसान्तमा सकिए पनि पुःन म्याद थप गरिएको छैन । चौतर्फी दवाव हुन थालेपछि मात्र निर्माण व्यवसायी विरुद्ध कारबाही अघि बढेको एक स्थानीयले बताए ।

    गाउँपालिकाको भवनको गुणस्तरका विषयमा सुरुदेखि नै प्रश्न उठेको थियो । भवनको डिपीसि ढलानका क्रममा मापदण्ड डिजाईन विपरित गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै इन्जिनियर राउतले २ पुस २०७७ मा निर्माण सामग्रीको ल्याव टेष्टमा लैजानका लागि कार्यालय प्रमुखसँग अनुमति माग गरेका थिए ।

    त्यही आधारमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले निर्माण व्यवसायीलाई यथाशिघ्र उपस्थित भएर त्रुटी सच्याउन ३ पुस २०७७ मा पत्राचार गरेका थिए ।

    भवनको जग ढलानका क्रममा प्रयोग गरिएका सिमेन्ट, बालुवा, गिटी, इटा, डण्डीको गुणस्तर परिक्षणका लागि ३ पुस २०७७ मा नमूना पठाइएकोमा १७ पुस, २० पुस, ९ माघ र १९ माघ २०७७ मा प्राप्त भएको रिपोर्ट सन्तोषजनक रहेको आएको थियो ।

    यस्तै, १५ माघ २०७७ मा प्राविधिक/इन्जिनियरले गरेको अनुगमनका क्रममा गिटीमा एलएए भ्यालु ३५ भन्दा कम भएको, साईज २० एमएमभन्दा कम भएको, बालुवामा क्ले, सिल्ट कन्टेन्ट ५ प्रतिशत कम भएको पाइएपछि गिटी/बालुवा परिवर्तन गरी काम अघि बढाउन र प्रयोग गर्न नसकिने सामग्रीलाई साइडबाट तत्काल हटाउन पत्राचार गरिएको जनाइएको छ ।

    प्रशासनिक भवनको ग्राउण्ड फ्लोरको पिलरको ल्यावटेष्ट रिपोर्ट फेल भएको विषयमा सत्यतथ्य बुझ्नका लागि स्थानीय लोकेन्द्र राजभण्डारीले १६ भदौमा सूचनाको हक प्रयोग गर्दै गाउँपालिका समक्ष निबेदन दिएका थिए । तर, हालसम्म जवाफ प्राप्त नभएको राजभण्डारी बताउँछन् ।

    सम्बन्धित समाचार