शुक्रवार, आश्विन १५ २०७८
नेपाल वाइड
खोटाङ । असोज १५, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा खोटाङका १० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । ज्येष्ठ नागरिक जिल्ला संघको आजिवन सदस्य बनेका ज्येष्ठ नागरिकलाई ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिक जिल्ला संघले आजिवन सदस्य भीमबहादुर कार्की, कर्णबहादुर बजिमय, ज्ञानबहादुर बिश्वकर्मा, मुसुरीमायाँ आचार्य, सरस्वती खड्का, देवमायाँ आचार्य, पन्नामायाँ कार्की, कोपिला कार्की, कर्णबहादुर कट्वाल र कुलबहादुर कट्वाललाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर जनही पाँच सय प्रदान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायब उपरिक्षक उमेश लम्साल लगायतको हातबाट दोसल्ला ओढाएर सम्मान गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको ज्येष्ठ नागरिक संघले जनाएको छ ।
ज्येष्ठ नागरिक जिल्ला संघले आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसलाई राजनैतिक दलले भने उपेक्षा गरेका छन् । भोट बैंकका रुपमा उपयोग भइरहेका ज्येष्ठ नागरिकले आयोजना गरेको कार्यक्रममा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि मात्र उपस्थित भएका छन् ।
अतिथि आशन ग्रहणका क्रममा बोलाउँदा दलका प्रमुख तथा प्रतिनिधि नदेखिएपछि आयोजक मुखामुख गरेका थिए । ज्येष्ठ नागरिक, महिला, दलित लगायतको कार्यक्रमलाई सँधैजसो राजनैतिक दलले उपेक्षा गर्ने गरेको संघले जनाएको छ । कतिपय दलका नेतृत्वले आफै उपस्थित हुनुको सट्टा ‘मन राखिदिन’का लागि प्रतिनिधि पठाइदिने गरेको चर्चा चलेको छ ।