सोमवार, आश्विन ४ २०७८
नेपाल वाइड
खोटाङ । असोज ४, किरात राई कर्मचारी मञ्च केन्द्रिय समितिले मोटरबाईक दुर्घट्नामा ज्यान गुमाएका नासु हरिलाल राईको स्मृतिमा सम्मान कोष स्थापना गरेको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्वर्गीय नासु राईको स्मृतिमा उनकै बुवा उदयबहादुर राई र आमा चुनामायाँ राईले अक्षय कोष स्थापनार्थ उपलव्ध गराएको तीन लाखमा स्वर्गीय हरिलाल राई स्मृति सम्मान कोष स्थापना गरिएको हो ।
वार्षिक रुपमा प्राप्त हुने व्याजबाट किरात राई समुदायका एक जना महिला र एक जना पुरुष राष्ट्रसेवक कर्मचारीलाई वार्षिक रुपमा सम्मान गर्नेगरी कोष स्थापना गरिएको किरात राई कर्मचारी मञ्च केन्द्रिय समितिका महासचिव अनिल किरातीले जानकारी दिए ।
किरात राई कर्मचारी मन्च केन्द्रीय कार्य समितिको गत बैसाख ३ गतेको बैठकको निर्णय अनुसार हरिलाल राई स्मृति सम्मान कोष स्थापना गरिएको सोमबार प्रकाशित विज्ञाप्तीमा उल्लेख छ ।
भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित सेवा कामना बहुउद्धेश्यीय सहकारी संस्थामा मुद्धती खाता खोलेर स्मृति सम्मान कोष सञ्चालनमा ल्याइएको किरात राई कर्मचारी मञ्च केन्द्रिय समितिले जनाएको छ ।
लहानमा काठ्माण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बसले बाईकलाई ठक्कर दिँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु राईको २०७७ साल पुस ७ गते निधन भएको थियो ।
नेपालको सार्वजनिक प्रशासनमा आवद्ध भएर देश र जनताको सेवामा समर्पित किरात राई समुदायका सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई वार्षिक रुपमा सम्मान प्रदान गर्ने तथा सार्वजनिक सेवा र समुदायको हितमा प्रोत्साहित गर्न एवं वृत्ति विकासमा टेवा पुर्याउने लक्ष्यका साथ कान्छो छोरा स्वर्गीय हरिलालका परिवारले सम्मान कोष स्थापनाका लागि आर्थिक सहयोग गरेका हुन् ।
स्वर्गीय नासु राईको परिवारबाट स्मृति सम्मान कोष स्थापनाका लागि सहयोग प्राप्त भएपछि किरात राई कर्मचारी मञ्चको विधान, २०६८ (संशोधित, २०७७) को परिच्छेद ६ को दफा २१ अनुसार नियमावली बनाएर सम्मान कोष स्थापना गरिएको महासचिव किरातीले जानकारी दिए ।