Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ५२ वर्षदेखि सम्पर्क विहिन राई घर आइपुग्दा...

    ५२ वर्षदेखि सम्पर्क विहिन राई घर आइपुग्दा...


    • बिहिवार, भाद्र ३१ २०७८

    • नेपाल वाइड


    ५२ वर्षदेखि सम्पर्क विहिन राई घर आइपुग्दा...
    ५२ वर्षपछि इण्डियाबाट घर आइपुगेका बतासेका प्रसाद राई । तस्बिर सौजन्य : प्रेम राई

    खोटाङ । भदौ ३१, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका प्रसाद राई लामो समयसम्म सम्पर्कमा नआउँदा परिवारले मायाँ मारिसकेका थिए । २०२७ साल बैसाखमा घर छाडेका प्रसाद ‘ज्युँदै छन् वा छैनन्’ भन्ने बारेमा आफन्त नै बेखबर थिए । कतिपयले भुलिसकेका थिए ।

    आफन्तलाई ‘इण्डियामा छन्’ भन्ने बाहेक अन्य जानकारी थिएन । तर, ‘बार्‍ह वर्षमा खोलो फर्कन्छ’ भनेझैँ ५२ वर्षपछि प्रसाद घर फर्किएका छन् । २१ वर्षको उमेरमा घरबाट हिँडेका उनी अहिले ७३ वर्षको उमेरमा घर आइपुगेका हुन् ।

    उदयपुरको बलम्तास्थित मावली घर जाने भन्दै २०२७ सालमा हिँडेका प्रसाद परिवारबाटै सम्पर्क विहिन बनेका थिए । भाञ्जा पर्नेसँग इटहरीसम्म सँगै गएका प्रसाद त्यहीबाट सम्पर्क विहिन बनेका थिए ।

    इटहरीबाट भाञ्जा गाउँ फर्कँदा उनी भने इण्डिया छिरिसकेको खबर आएको थियो । उनी हालसम्म इण्डियाको नागाल्याण्ड बसेको खुलेको आफन्त बिशाल राईले जानकारी दिए । उनी नागाल्याण्डबाट नेपाल प्रवेश गरेर इटहरी–उदयपुरको कटारी–घुर्मी–जयराम–हलेसी–दिक्तेल हुँदै भदौ २८ गते गाउँ पुगेका हुन् ।

    returnes from india after 52 years at batase photo_khotang1.jpg

    ५२ वर्षपछि इण्डियाबाट घर आइपुगेका बतासेका प्रसाद राईको परिवार र आफन्तसहित । तस्बिर सौजन्य : प्रेम राई

    प्रसाद परिवारका एक्लो छोरो थिए । परिवारमा जेठो सन्तानकारुपमा जन्मिएका छोरो वेपत्ता हुँदा आमाबुवालाई पर्नुसम्म चोट परेको थियो । प्रसादले घर छाड्दा घरमा आमाबुवा थिए । घरभरी ६ स–साना बहिनीहरु थिए । ५२ वर्षपछि फर्कँदा घर रित्तो थियो ।

    हराभरा घर सुनसान र उराठ् लाग्दो थियो । उनका बुवाआमाको मृत्यु भएको वर्षौँ वितिसकेको छ । श्वास छउञ्जेल आमाबुवाले प्रसादको बाटो हेरेका थिए । बहिनीहरु विवाह गरेर आ–आफ्नो सुतीखेतीमा छन् । भाञ्जाभाञ्जीदेखि नातीनातिनी भइसकेका छन् । मायाँ मारिसकेको अवस्थामा प्रसाद आइपुगेपछि आफन्त खुसी भएका छन् ।

    प्रसाद बुढेसकालले छोपिसकेको साथीभाईसँग खुसी साटिरहेका छन् । उनी विवाह नगर्दै इण्डिया गएका थिए । सम्पर्कमा नआए पनि आफन्तले भने कुनै न कुनै दिन घर सम्झेर प्रसाद घर आउने आशा भने मारेका थिएनन् । उनी ज्याला मजदुरीको काम गर्दै नागाल्याण्ड बसेको बताइएको छ ।

    ‘भनिन्छ नी जीवनमा नसोचेको हुन्छ भनेर, वास्तवमा हो रहेछ, हाम्रो दिक्कु (मामा) हुनुहुन्थ्यो भनेको सुनेको आजभन्दा लगभग ५२ वर्ष अघिदेखि हामिबाट ओझेलमा हुनुहुन्थ्यो रहेछ,’ प्रसादको भाञ्जी नानुका चाम्लिङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘५२ वर्षपछि आफ्नो घर, परिवार, आफन्त, दाजुभाई, नरनाता, सम्झेर जन्मथलो फर्किनु भएको खबर सुन्दा सार्‍है खुसी लाग्यो । आज यसरी मामालाई देख्न पाउँदा हर्षको आँसु थामिरहेका छैनौँ !’

    पहाडी क्षेत्रबाट रोजगारी खोज्दै इण्डियाको नागाल्याण्ड, सिलोङ लगायतका ठाउँमा जाने आउने स्थानीयको संख्या अहिले पनि अधिक छ । कतिपय नागाल्याण्ड, सिलोङ लगायतका ठाउँमा पुग्ने र दशकौंसम्म उतै बस्ने पनि उत्तिकै भेटिन्छन् ।

    सम्बन्धित समाचार