बिहिवार, भाद्र ३१ २०७८
नेपाल वाइड
खोटाङ । भदौ ३१, प्रदेश नम्बर १ का आर्थिक करिडोरमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना संचालन हुने भएको छ । ग्रामीण बजार आवद्धता तथा उद्यम पर्यावरणको प्रवद्र्धन गर्ने तथा कोभिड–१९ को असहज परिस्थितबाट अवरूद्ध खाद्य श्रृंखला तथा ग्रामीण अर्थतन्त्रको पुनःस्र्थापना तथा प्रवद्र्धनका लागि रोजगारीका अवसरहरूको विकास गर्ने उद्धेश्य सहित मध्यपहाडी राजमार्गले छोएको प्रदेश नम्बर १ का जिल्लामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना संचालनको तयारी गरिएको हो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय पाख्रीवास, धनकुटामार्फत पाँचथर, ते¥हथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुंगामा कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।
आयोजना अन्तरगत अनाज बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय, धनकुटाका कृषि अधिकृत सन्तोष थापाले जानकारी दिनुभयो ।
७ वटै प्रदेशका आर्थिक करिडोरहरुमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनका लागि नेपाल सरकार र बिश्व बैंकबिच २०७७ साल पुस ६ गते सम्झौता भएको थियो ।
यस अन्तरगत खोटाङको मध्यपहाडी लोकमार्गले छोएका साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना संचालनको तयारी गरिएको छ । सो कार्यक्रम सन् २०२५ सम्म रहने जनाइएको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो सम्भाग अन्तरगत बजार आवद्धतालाई सहयोग गर्ने, दोश्रो सम्भागमा विद्यमान संघीय प्रणालीमा कृषि उद्यम प्रर्यावरणलाई वढावा दिने, तेश्रो सम्भागमा कोभिड–१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति श्रृंखला तथा स्थानीय अर्थतन्त्रलाई पुनरोत्थान तथा सुदृढिकरण गर्ने गतिविधि सञ्चालन हुने छन् ।
यस्तै, चौथो सम्भाग अन्तरगत परियोजनाको कार्यान्वयन, खरिद तथा आर्थिक व्यवस्थापन, सामाजिक तथा वातावरणिय जोखिम व्यवस्थापन, अनुगमन मूल्याङ्कन तथा प्रतिवेदन तयारी एंव तालिम लगायतका कृयाकलापहरु सञ्चालन गर्ने योजना समावेश छ ।
पाँचौ सम्भागमा आकस्मिक प्रतिकार्यका कृयाकलापहरु संचालन हुने आयोजनाले जनाएको छ । आयोजना सञ्चालित क्षेत्रका प्रादेशिक र स्थानीय तहसँग दिक्तेलमा भदौ २३ गते अन्तरक्रिया गरिएको थियो ।