मंगलवार, भाद्र २२ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २२, खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको छ ।
दुधकोसीले छोएको खोटाङको ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकालाई समेटेर जलाधारमा आधारिक जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको हो ।
जलवायु परिवर्तनजन्य सुक्खा, बाढी, पहिरो लगायतका बहुप्रकोपको जोखिममा रहेका समुदायको जीवन तथा भौतिक र आर्थिक सम्पत्तीको सुरक्षा गर्दै उनीहरुको जीविकोपार्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र बिश्व वातावरण कोषको संयुक्त सहकार्यमा जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सञ्चालन सुरु गरिएको हो ।
वन तथा भू–संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनको जिम्मा पाएको कार्यक्रमबाट तल्लो दुधकोसी जलाधार क्षेत्रका १ लाख २१ हजार ६०३ संकटापन्न स्थानीय लाभान्वित हुने आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ । १ मे २०२४ सम्म सञ्चालन हुने कार्यक्रमको विभिन्न चरणका क्रियाकलाप १ डिसेम्बर २०२० देखि सुरु गरिएको थियो ।
खोटाङको पश्चिमी ढाल (दुधकोसी, रावाखोला, तापखोला) तथा ओखलढुंगाको पुर्वी ढाल (दुधकोसी, ठोट्ने खोला) भित्रको क्षेत्रलाई दुधकोसी जलाधार क्षेत्र मानिन्छ । जलाधारमा आधारिक जलवायु उत्थानशिल जीविकोपार्जन आयोजनाले दुई जिल्लाका ८ स्थानीय तहका ५१ वडाका करिब ८४४ वर्गकिलोमिटर ओगटेको जानकारी दिएको जनता समाजवादी पार्टीका प्रदेश कमिटि सचिव सुर्यबहादुर राईले बताउनुभयो ।
दुधकोसी जलाधार क्षेत्रलाई अन्य ठाउँको तुलनामा सुक्खाग्रस्ता क्षेत्र, हिमताल र हिमकुण्ड स्खलनको उच्च जोखिम भएको, जलवायुको दृष्टिकोणले उच्च जोखिम, विगतमा पहिरोबाट जनधनको क्षती भएको, सुक्खाग्रस्त र खडेरीको प्रकोप उच्च रहेको, खाद्य संकट उच्च रहेको, पानीको मुल सुकेको, भिरालो खेतीपाती भएको क्षेत्र मानिन्छ ।