बिहिवार, भाद्र १७ २०७८
नेपाल वाइड
दाङ । दाङमा बाढीले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा चार जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
घटनामा परि घोराही–१३ का ३२ वर्षीया सुशिला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुवर, घोराही–१३ का ४० वर्षीया रीतामाया पुन र घोराही–१४ का ४२ बर्षिय विमला केसीको मृत्यु भएको हो ।
सो घटनामा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको छ । चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो ।
प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो । मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । चालक घोराही–१५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।