Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    राजेन्द्र र ज्ञानेन्द्र : इराकमा अस्ताएका सपना

    राजेन्द्र र ज्ञानेन्द्र : इराकमा अस्ताएका सपना


    • बुधवार, भाद्र १६ २०७८

    • नेपाल वाइड


    खोटाङ । भदौ १६, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका राजेन्द्र श्रेष्ठ र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ वैदेसिक रोजगारीका सिलसिलामा जोर्डन जाने निश्चित भएको थियो ।

    श्रेष्ठद्धय नजिकका आफन्त पनि भएकाले सल्लाहमै सँगै भिसा ‘एप्लाई’ गरेका थिए । होटलको काम गर्न जोर्डन जान तयार भएका उनीहरुको भिसा पनि सँगै आयो । झोलाभरी सम्पत्ती ल्याउने सपनामा फूलमाला लगाएर राजेन्द्र र ज्ञानेन्द्र एकैदिन घरबाट हाँसीखुसीका साथ बिदा भए ।

    तर, घरबाट हिँडेको १०/१२ दिन नवित्दै राजेन्द्र र ज्ञानेन्द्र इराकमा मारिएको खबर आयो । बिश्वलाई नै आतंकित पार्ने त्यो दिन थियो २०६१ साल भदौ १६ गते । परदेशमा धन कमाऔंला र परिवारलाई सुखसयलका साथ राखौंला भन्ने सपनामा विदेसिएका राजेन्द्र र ज्ञानेन्द्र सहित १२ नेपाली सुन्नी अतिवादी संगठनको तारोमा परेका थिए ।

    सुन्नी अतिवादी संगठनले उनीहरुको गोली हानेर र घाँटी रेटेर विभत्स हत्या गरेको थियो । आतंककारीको त्यही आक्रमणमा राजेन्द्र र ज्ञानेन्द्रका सपना मात्र होईन जीवन नै सँधैका लागि अन्त्या भयो ।

    कुपन्डोलस्थित मुनलाइट मेनपावरबाट दुबई हुँदै इराक उत्रेका उनीहरुको विमानस्थलमा अवतरण गरेको केही समयपछि हत्या भएको खबर आएको राजेन्द्र र ज्ञानेन्द्रका आफन्त निरकुमार श्रेष्ठ बताउँछन् ।

    ‘काठ्माण्डौंबाट दुबईमा लगेर दुई/चार दिन राखेछन् । दुबईबाट इराकमा ओर्लने वित्तिकै मेनपावरको एजेन्टले रिसिभ गर्नुपर्नेमा सुन्नी अतिवादी संगठनले तिमीहरुले खोजेको मान्छे हामी हौं भन्दै लिएर गएछन्,’ निरकुमारले भने, ‘अर्काको देशमा आतंककारीको समुहले अपहरण गरेको कसैलाई पत्तै भएन । अपहरण गरेको केही समयमै हत्या भएको खबर आयो ।’

    २०६१ सालताका गाउँघरमा टेलीफोनको सुविधा थिएन । हिजोआज जस्तो मोबाईलमै इन्टरनेट चलाउने कुरा त्यो बेला सपनाजस्तै थियो । देश विदेशको खबर थाहा पाउन रेडियो सुन्नु पथ्र्यो । प्रायः घर–घरमा रेडियो हुन्थ्यो ।

    त्यही रेडियो सेटबाटै राजेन्द्र र ज्ञानेन्द्रको विभत्स हत्या भएको खबर परिवार तथा आफन्तले पाएका थिए । काठ्माण्डौंतिर बस्ने र इन्टरनेटको पहुँचमा भएका आफन्तले अलजजिराबाट प्रशारण भएको सो बिभत्स हत्याको भिडियो क्लिप देखे । त्यो भिडियो क्लिप हेरेका आफन्तले पनि राजेन्द्र र ज्ञानेन्द्रको हत्याको विषयमा परिवारलाई खबर पुर्‍याएको निरकुमार बताउँछन् ।

    राजेन्द्र परिवारका चार दाजुभाई मध्ये जेठो हुन् । उनले विवाह गरेको डेढ/दुई वर्ष मात्र भएको थियो । बालबच्चाको जायजन्म भएको थिएन । त्यैपनि उनले विदेश जानका लागि श्रीमतीलाई राजी गराएका थिए । राजेन्द्रको हत्याको खबर आएपछि उनकी श्रीमती फत्तेपर (उदयपुर) माईती फर्किन् ।

    कानूनी लडाईपछि कम्पनी केल्लोग ब्राउन एन्ड रुटबाट राजेन्द्रको नाममा प्राप्त भएको क्षती पुर्ती मध्ये आधा रकम लिएपछि उनी सँधैका लागि माइती फर्केको स्थानीय बताउँछन् । बालबच्चा नभएको र छोरा वितेका कारण उनलाई घरैमा बस्नका लागि जोडवल गरिएन । राजेन्द्रका बुवा रामकुमार श्रेष्ठ हाल चिसापानीका वडाध्यक्ष छन् ।

    ज्ञानेन्द्र भने एक/डेढ वर्षका छोरा र श्रीमती छाडेर विदेसिएका थिए । दुई भाईमध्ये उनी पनि परिवारको जेठो सन्तान हुन् । श्रीमती तारा क्षतीपुर्तीवापत प्राप्त भएको रकमबाट छोरा पढाउँदै काठ्माण्डौंमा सेटल भएको स्थानीय बताउँछन् । ज्ञानेन्द्रका आमा भने अहिले पनि गाउँमा छिन् । उनका बुवा, कान्छी आमा, कान्छी आमातर्फका भाई उदयपुरको बेलटारमा बसिरहेका छन् ।

    इराकमा राजेन्द्र र ज्ञानेन्द्रको हत्यापछि उनीहरुको स्मरणमा चिसापानीमा शिलालेख बनाइएको थियो । २०६१ साल भदौ १६ गते पर सर्दैजाँदा र संरक्षण अभावमा त्यी शिलालेख मेटिइसकेको छ ।

    यी हुन् इराकमा ज्यान गुमाउने नेपाली

    सो आतंककारी समूहले राजेन्द्र र ज्ञानेन्द्र सहित झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुरको हत्या गरेको थियो ।

    यस्तै, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापाको हत्या गरेका थिए । घट्ना लगत्तै ११ जनालाई गोली हानेर र एक जनाको भने घाँटी रेटेर हत्या गरिएको भिडियो सार्वजनिक भएको थियो ।

    सम्बन्धित समाचार