शनिवार, भाद्र १२ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १२, खोटाङमा २१ वर्षीय युवती घरैमा मृत फेला परेको घट्नामा प्रहरीले ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन अस्वीकार गरेको गुनासो आएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माईती घर भइ वर्ष दिनअघि हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको तल्लो चिचिङ्गाका मनकुमार राईसँग विवाह गरेकी शिक्षा राई घरैमा झुण्डिएको अवस्थामा मृत फेला परेको घट्नामा प्रहरीले ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन अस्वीकार गरेको गुनासो आएको हो ।
शिक्षाका श्रीमान मनकुमार बिरुद्ध ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिन पटक–पटक जिल्ला प्रहरी कार्यालय पुग्दा आफुहरुको माग बमोजिम प्रहरीले जाहेरी दरखास्त लिन अस्वीकार गरेको माईती पक्षले गुनासो गरेका छन् ।
शिक्षा भदौ ७ गते राती घरैमा मृत फेला परेकी थिईन् । भदौ ९ गते माईतीपक्षका काका ज्ञानबहादुर राईको नामबाट ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिन दुईपल्ट जिल्ला प्रहरी कार्यालय पुग्दा अस्वीकार गरिएपछि सोही दिन तेश्रो पल्ट पुगेर आत्महत्या दुरुत्साहन सम्वन्धी उजुरी दिएर फर्कनु परेको वडाबा बयानसिं राईले बताए ।
आत्महत्या दुरुत्साहन सम्वन्धी उजुरी परेसँगै आरोपित शिक्षाका श्रीमान मनकुमारलाई प्रहरीले भदौ ९ गते पक्राउ गरेको जनाएको छ । आत्महत्या दुरुत्साहन सम्वन्धी कसुरमा उजुरी दिएर फर्किएका माईती पक्ष मृतकको शारीरिक अवस्था र घट्ना प्रकृतिका आधारमा पुःन भदौ १० गते ठूली आमा पार्वती राईको नामबाट ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

तर, प्रहरीले नै ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन नसकिने भन्दै फर्काएको माईतीपक्षका काका ज्ञानबहादुर राईले गुनासो गरेका छन् । ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन नमानेको भन्दै पत्रकार भेटघाटका लागि शनिबार हलेसी न्यूज नेटवर्कको कार्यालयमा पुगेका पिडित पक्षले प्रहरीबाट घट्नामा संलग्न दोषीको बचाउ गर्न खोजिएको आशंका गरेका छन् ।
सुरुमा रुख कटहरको रुखमा झुण्डिएको भनेर खबर गरेपछि घट्नास्थल पुग्दा घरको बरण्डाको काठमा झुण्डिएको भनिएको, प्रहरी नपुग्दै डोरीबाट शव निकालेर राखिएको, माइतीपक्ष नपुग्दै मुचुल्का उठाइएको, मृतकले करिब ७ फिट अग्लो बरण्डामा आफै डोरी झुण्ड्याउन नभेट्ने तथा डोरी झुण्ड्याउनका लागि केही पनि टुल्स प्रयोग नगरेको पाइएको, डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको, मृतकको नाक र मुखमा रगत देखिएको, दाहिने कोखामा निलडाम देखिएको, देब्रे हातमा कोतारिएको देखिनुले शिक्षाको आत्महत्या नभै हत्या भएको पिडित पक्षको दावी छ ।
सुरुमा तल्लो चिचिङ्गाका भुमीराजको छोराले माईतीपक्षका होमबहादुर राईलाई शिक्षा रुख कटहरमा झुण्डिएको भन्दै खबर गरे पनि घट्नास्थल पुग्दा घरको बरण्डामा झुण्डिएको भनिएको आमा अतिहिरा राईले गुनासो गरिन् । घट्नाको दिन शिक्षा आफन्तको घरमा सघाउन गएकी थिईन् ।

सघाउन गएकी शिक्षालाई आफन्तले साँझमा घर पुर्याएर छाडेको करिब ४५ मिनेटपछि नै झुण्डिएको खबर फैलिएको बताइएको छ । जाहेरीमा भएको झमेलाकै कारण उनको भदौ १० गते मात्र पोष्टमार्टम गरिएको थियो । ‘मृतकको तस्बिर हामीसँग पनि छ । तस्बिर हेर्दा पनि शिक्षाको आत्महत्या होईन, हत्या भएको हाम्रो ठहर छ,’ काका ज्ञानबहादुरले भने, ‘तर डिएसपी र इन्स्पेक्टरले नै किन ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन मान्नु भएन ? किन हामीलाई आत्महत्या दुरुत्साहनमा जाहेरी दिन वाध्य पारियो ? यसले हामीलाई शंका उत्पन्न गराएको छ ।’
श्रीमानले कुटपिट गरिरहने र परिवारबाट पनि मानसिक तनाव दिने गरेको भन्दै शिक्षाले माईतीपक्षका साथीभाईलाई फेसबुक मेसेञ्जरबाट गुनासो पोख्ने गरेको बताइएको छ । प्रहरीले ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन नमानेको भन्दै मृतकका आफन्तको आग्रहमा पुर्वजिविस सभापति बिष्णुकुमार राई र बाम्राङका वडाध्यक्ष ललितकुमार राई समेत जिल्ला प्रहरी कार्यालय पुगेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले भने शिक्षाका श्रीमान विरुद्ध ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त नआएको र आएमा दर्ता हुने बताए । ‘उहाँहरुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिनु भएको छ ।
यो पनि किटानी जाहेरी नै हो । पोष्टमार्टम रिपोर्ट आउँछ, त्यो बेलासम्म पर्खेर अन्य प्रकृया अघि बढाऔं भन्ने सल्लाह भएपछि उहाँहरु जानु भएको थियो,’ डिएसपी लम्सालले भने, ‘किटानी जाहेरी आए भने दर्ता नगर्ने भन्ने कुरै हुन्न, दर्ता गरेर पठाइदिन्छौँ । आफ्नो क्षेत्राधिकारभित्र आको जाहेरीलाई दर्ता गर्नपर्छ, मिल्दैन भने मिल्दैन भनेर फिर्ता गर्नुपर्छ ।’