बुधवार, भाद्र २ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भइ हाल यूकेमा रहेका समाजसेवी चक्र राईले गाउँकै शारीरिक तथा मानसिक अपांगता भएकी महिलालाई आर्थिक सहयोग गरेका छन् ।
बेलायती सेनाबाट अवकाश प्राप्त राईले बाम्राङकै शारीरिक र मानसिक अपांगता भएकी ४१ वर्षीय लिलामायाँ दाहाल (खत्री)लाई ६० हजार रकम प्रदान गरेका हुन् ।
मुख नलाग्ने, दुबै खुट्टा फर्किएका कारण हिँडडुल गर्न नसक्ने, हात सुकेको लगायतका शारीरिक र मानसिक अशक्तता भएकी लिलामायाँको जीवन यापनमा सहयोग पु¥याउने लक्ष्यका साथ बेलायती सेनाबाट अवकाश प्राप्त राईले आर्थिक सहयोग पठाइदिएका हुन् ।
पुर्व बेलायती सेना राईले पठाएको सहयोग रकममध्ये ५० हजार रकम स्थानीय चुप्ला पाण्डेगाउँ कृषि सहकारी संस्थामा लिलामायाँकै नाममा खाता खोलेर जम्मा गरिदिएको र नगद १० हजार भने लिलामायाँलाई हस्तान्तरण गरिएको छ ।
बाम्राङका वडासदस्य राजेन्द्र राई र दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्राध्यापक लिलाबहादुर दाहाल (खत्री)ले लिलामायाँलाई ५० हजारको जम्मा भौचर र नगद १० हजार हस्तान्तरण गरेका छन् । ५० हजार रकम भने मासिक ४ हजारका दरले झिक्न मिल्नेगरी सहकारीमा जम्मा गरिदिएको सहायक प्राध्यापक खत्रीले बताए ।
‘ग’ वर्गको अपांगताको परिचयपत्र पाएकी लिलामायाँ हाल भाउजुको हेरचाहमा बसिरहेकी छन् । आमाबुवाको मृत्यु भएपछि दाजुभाउजुसँग बसिरहेकामा दाजुको पनि मृत्यु भएपछि उनी भाजुसँग बसिरहेकी छन् । सहयोगी राईले आवश्यताका आधारमा लिलामायाँलाई आगामी वर्ष पनि सहयोग गर्ने आश्वसन दिएका छन् ।